भानु नगरपालिकाद्वारा दूधमा प्रति लिटर ५ रुपैयाँ अनुदान घोषणा
तनहुँ — भानु नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले किसानलाई प्रति लिटर ५ रुपैयाँ अनुदान दिने भएको छ। आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत कार्यक्रमअन्तर्गत नगरपालिका भित्रका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराइने जनाइएको छ।
नगर प्रमुख आनन्दराज त्रिपाठीका अनुसार उत्पादनमा आधारित यस कार्यक्रमले किसानको उत्साह बढाउने र दूध उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ। साथै, नगरपालिकालाई दूध, मासु, माछा तथा अण्डामा आत्मनिर्भर बनाउने लक्ष्यमा पनि यसले टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ।

अनुदान कार्यक्रमका लागि नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाले चैत्र २ गतेदेखि प्रस्ताव आह्वान गरिसकेको छ। दुग्ध उत्पादन गर्ने संस्था तथा दुग्ध कारोबार गर्ने सहकारीहरूले आवश्यक कागजातसहित १५ दिनभित्र आवेदन दिन नगरपालिकाले अनुरोध गरेको छ।


























