तनहुँमा अवैध बालुवा ढुवानीविरुद्ध कडा निगरानी, तीन सवारी कारबाहीबाट ५० हजार जरिवाना
तनहुँ — अवैध नदिजन्य पदार्थ उत्खनन तथा ढुवानी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय तनहुँले निगरानी तीव्र बनाएको छ। चैत ४ गते व्यास नगरपालिका–५, चापाघाट क्षेत्रमा गरिएको अनुगमनका क्रममा बालुवा बोकेका तीन सवारी साधन नियन्त्रणमा लिइएका हुन्।
प्रहरीका अनुसार ना ६ त ७४१ नम्बरको ट्याक्टर, ना ५ ख ३३४२ नम्बरको टिपर र ग १ त ३१९४ नम्बरको ट्याक्टरले अवैध रूपमा बालुवा ढुवानी गरिरहेका थिए। नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि व्यास नगरपालिकाको कार्यालय पठाइएको थियो।

नगरपालिकाले सम्बन्धित सवारी साधनलाई क्रमशः रु १२,८५०, रु २५,००० र रु १२,००० जरिवाना तिराएर छाडेको जनाएको छ। प्रहरीका अनुसार अवैध उत्खनन तथा ढुवानी नियन्त्रणका लागि आगामी दिनमा पनि नियमित अनुगमनलाई अझ कडाइका साथ निरन्तरता दिइनेछ।


























