सञ्चयकर्ताले गुणस्तरमा सम्झौता गर्न नहुने —खाद्य डिभिजन तनहुँका प्रमुख आचार्य

सञ्चयकर्ताले गुणस्तरमा सम्झौता गर्न नहुने —खाद्य डिभिजन तनहुँका प्रमुख आचार्य

दमौली, तनहुँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्योति आचार्यले खाद्य पदार्थ भण्डारण गर्ने सञ्चयकर्ताले गुणस्तरमा कुनै पनि सम्झौता गर्न नहुने बताएका छन्।
अधिकृत विक्रेता संघ तनहुँको १०औँ साधारणसभामा बोल्दै उनले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार सञ्चयकर्ताले तोकिएका दायित्वहरू अनिवार्य रूपमा पालना गर्नुपर्नेमा जोड दिए। खाद्य पदार्थको गुणस्तर जोगाउन उचित तरिकाले भण्डारण गर्नु अत्यन्त आवश्यक रहेको उनको भनाइ थियो।
आचार्यका अनुसार खाद्य पदार्थ राख्ने स्थान तथा गोदाम सधैं स्वच्छ, सफा र सुरक्षित हुनुपर्छ। खाद्य वस्तुको प्रकृति अनुसार आवश्यक तापक्रम र आर्द्रताको व्यवस्थापन गरी भण्डारण गर्नुपर्ने उनले बताए।
उनले खाद्य पदार्थको स्वच्छता र गुणस्तरमा असर पर्ने कुनै पनि गतिविधि नगर्न चेतावनी दिँदै लेबलमा उल्लेखित विवरणमा कुनै फेरबदल नगर्न आग्रह गरे। साथै, खाद्य वस्तुको पहिचान प्रणाली (ट्रेसबिलिटी) कायम राख्नु अनिवार्य भएको उनले उल्लेख गरे।
उनका अनुसार बजारमा गुणस्तरहीन तथा म्याद नजिकिएका खाद्य वस्तुको बिक्री–वितरण रोक्न नियामक निकायले अनुगमनलाई थप प्रभावकारी बनाइरहेको छ। व्यवसायीहरूले कानुनी प्रावधान पालना गरेमा उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित हुने उनको भनाइ थियो।

अधिकृत विक्रेता संघ तनहुँका अध्यक्ष दिनेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी व्यवसायीहरूले खाद्य सुरक्षा मापदण्ड पालना गर्ने प्रतिबद्धता जनाएका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page