अधिकृत विक्रेता संघ तनहुँको १०औँ साधारणसभा सम्पन्न, व्यवसाय सुधार र उपभोक्ता अधिकारमा जोड

दमौली । अधिकृत विक्रेता संघ तनहुँको १०औँ साधारणसभा विभिन्न प्रस्ताव, समीक्षा र भावी रणनीतिहरू तय गर्दै सम्पन्न भएको छ। संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा व्यवसायिक पारदर्शिता, बजार व्यवस्थापन र उपभोक्ता अधिकार संरक्षणका विषयमा विशेष छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा अधिकृत विक्रेता संघका केन्द्रीय निवर्तमान अध्यक्ष हरिराज पन्तले आफ्नो मन्तव्यमा विक्रेता व्यवसायलाई व्यवस्थित, जिम्मेवार र उपभोक्ता–मैत्री बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले बजारमा गुणस्तरहीन तथा म्याद नजिकिएका वस्तुहरूको व्यवस्थापनमा डिलर, वितरक र विक्रेताबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो। साथै, व्यवसायीहरूलाई कानुनी प्रावधान र उपभोक्ता हितप्रति सचेत रहन आग्रह गर्नुभयो।
कार्यक्रममा नेपाल वितरक महासंघका गोविन्द कर्माचार्यले वितरण प्रणालीलाई प्रभावकारी बनाउन संस्थागत सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। खाद्य डिभिजन कार्यालय तनहुँका प्रमुख ज्योति आचार्यले बजार अनुगमनलाई थप कडाइका साथ अघि बढाइने जानकारी दिँदै व्यवसायीहरूलाई खाद्य गुणस्तर कायम गर्न आग्रह गर्नुभयो। उहाँले सोही अवसरमा ‘खाद्य गुणस्तर ऐन २०८१’ सम्बन्धी पुस्तक समेत हस्तान्तरण गर्नुभयो।
पत्रकार महासंघ तनहुँका प्रतिनिधि बिकास खनालले बजारमा देखिने अनियमितता, म्याद सकिन लागेका वस्तुहरूको बिक्री तथा उपभोक्ता ठगीका घटनामा सञ्चार माध्यमको भूमिकाबारे प्रकाश पार्नुभयो। यस्तै, तनहुँ यातायात व्यवसायी समिति अध्यक्ष मनोज अधिकारीले ढुवानी तथा आपूर्ति व्यवस्थापनलाई व्यवस्थित गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष हरि खड्का, गोविन्द प्रसाद कर्माचार्य, अधिकृत विक्रेता संघ लेखनाथका निर्मल पौडेल, वरिष्ठ उपाध्यक्ष लालप्रसाद प्रधान, राजाराम शर्मा लगायतले व्यवसायीहरूको हकहित, चुनौती र अवसरका विषयमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा संघमा सक्रिय भई उद्योग वाणिज्य संघसम्म पुग्न सफल व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। यसले संघभित्रको नेतृत्व विकास र व्यवसायिक उन्नतिलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिएको थियो।
२०६६ सालमा स्थापना भएको अधिकृत विक्रेता संघ तनहुँले जिल्लामा वितरण प्रणालीलाई व्यवस्थित बनाउने, व्यवसायीहरूको हकहित संरक्षण गर्ने तथा उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउने उद्देश्यसहित विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा अध्यक्ष दिनेश कुमार श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघका हालसम्मका गतिविधि, देखिएका समस्या, वर्तमान अवस्था तथा आगामी चुनौतीबारे विस्तृत जानकारी गराउनुभयो। उहाँले बजार व्यवस्थापन, कानुनी अस्पष्टता, प्रतिस्पर्धात्मक दबाब र आपूर्ति व्यवस्थापनजस्ता विषयहरूलाई मुख्य चुनौतीका रूपमा औंल्याउँदै समाधानका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
साधारणसभाले आगामी दिनमा बजारलाई थप व्यवस्थित, अनुशासित र उपभोक्ता–मैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै विभिन्न निर्णयहरू समेत पारित गरेको छ।



























