अर्थतन्त्र मापनको आधार: राष्ट्रिय आर्थिक गणना
ऋषि राम सिग्देल
तथ्याङ्कले सर्वस्वीकार्य तथा सर्वमान्य अन्तरदृष्टि प्रदान गर्दछ र यसबाट महत्वपूर्ण सूचना तथा जानकारी प्राप्त हुन्छ। तथ्याङ्कले समाजको यथार्थतालार्इ उजागर गर्दछ, जसलार्इ निर्णय प्रक्रियाको आधारस्तम्भको रूपमा लिइन्छ। तथ्याङ्कलार्इ योजना प्रक्रिया तथा नीति निर्माणको जग, सूचनाको कच्चा पदार्थ, पारदर्शिताको र जवाफदेहिताको आधार सार्वजनिक वस्तु जस्ता उपमाले सम्बोधन पनि गरिन्छ। तथ्याङ्कले सुशासन, पारदर्शिता, मानवअधिकार लगायतका लोकतन्त्रका आधारभूत स्तम्भहरूको मापनका लागि औजारको रूपमा; समाज र वस्तुस्थिति बुझ्नका लागि परिचायकको रूपमा; नीति, योजना तथा निर्णय प्रक्रियाका लागि सारथीको रूपमा; सरकारका प्रतिबद्धता र लक्ष्य अनुगमनका लागि प्रमाणका रूपमा; अध्ययन तथा अनुसन्धानका लागि शैक्षिक सामाग्रीका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यस्ता तथ्याङ्कहरू मूलतः गणना, नमूना सर्वेक्षण, प्रशासनिक अभिलेख, तथा अन्य वैकल्पिक विधि जस्तै बिग डाटा, नागरिक सिर्जित डाटा आदिबाट संकलन, प्रशोधन, विश्लेषण, प्रस्तुति तथा व्याख्या र प्रयोग गरिन्छ। यस किसिमका तथ्याङ्कीय स्रोतका आ-आफ्नै विशेषता, औचित्य, महत्व, फाइदा तथा बेफाइदाहरू छन्। माथि उल्लिखित तथ्याङ्कीय स्रोतहरूमध्ये आर्थिक गणनाका बारेमा चर्चा गर्नु यस लेखको प्रमुख उद्देश्य हो।
समृद्धिको ढोका ढकढकाउने पहिलो शर्त नै आर्थिक विकास हो। आर्थिक विकास बिनाको सामाजिक विकास असम्भव जस्तै हुन्छ भने सामाजिक विकास बिनाको आर्थिक विकास पनि अपूर्ण हुन्छ। यस हिसाबबाट हेर्दा आर्थिक विकासले समग्र देश विकासको मार्गचित्र तयार गर्नमा प्रमुख भूमिका खेल्ने देखिन्छ। यसै सन्दर्भमा आर्थिक विकासको आधारस्तम्भका रूपमा आर्थिक तथ्याङ्क रहेका हुन्छन्। अर्थतन्त्रभित्रका आर्थिक क्रियाकलाप र त्यसबाट सिर्जना हुने मूल्य अभिवृद्धि, रोजगारी, पुँजि लगायतका आर्थिक अवस्था मापनका लागि आर्थिक तथ्याङ्क प्रयोग गरिन्छन्। यीनै तथ्याङ्क आपुर्तिका लागि आर्थिक गणना गरिन्छ। आर्थिक गणना एउटा बृहद् र व्यापक तथ्याङ्कीय क्रियाकलाप हो, जसले देशभित्र सञ्चालनमा रहेका आर्थिक क्रियाकलापहरूको आधारभूत विवरण संकलन, प्रशोधन, विश्लेषण, प्रस्तुति तथा व्याख्या गर्दछ। विश्वपरिवेशमा आर्थिक क्रियाकलापहरूको मापन गर्ने परम्पराको थालनी संयुक्त राज्य अमेरिकाबाट सन् १८१० को जनगणनासँग गरिएको औद्योगिक गणनाबाट भएको देखिन्छ। पछि सन् १९५४ मा अमेरिकाले नै पहिलोपटक अलग्गै आर्थिक गणना सञ्चालन गर्न सुरू गरेको पाइन्छ। त्यसयता विश्वका विभिन्न देशहरूले आर्थिक गणना गर्दै आएका छन्। छिमेकी राष्ट्र चिनले सन् २००४ मा, भारतले सन् १९७७ मा, जापानले सन् २०१२ मा सुरू गरी आवधिक रूपमा आर्थिक गणना सञ्चालन गरिरहेका छन्। अन्य अधिकांश देशहरूले पनि यस्तो गणना सञ्चालन गरिरहेको पाइन्छ।
नेपालमा आर्थिक क्रियाकलापको मापनसम्बन्धी औपचारिक प्रयास वि.सं. २०२२ मा सम्पन्न पहिलो औद्योगिक गणनाबाट प्रारम्भ भएको हो। त्यसपछि प्रत्येक १० वर्षमा यस्ता गणना हुँदै आएका थिए भने वि.सं. २०२९ मा प्रत्येक पाँच वर्षमा सञ्चालन गर्नेगरी साना औद्योगिक सर्वेक्षणको समेत सुरूआत गरिएको थियो। यसक्रममा वि.सं. २०६९ सम्म दशौँ औद्योगिक गणना तथा वि.सं. २०६६ सम्म पाँचौँ साना औद्योगिक सर्वेक्षण सम्पन्न भइसकेको छ। यस्ता गणना तथा सर्वेक्षणहरूलाई एकीकृत ढाँचामा सञ्चालन गर्ने अभ्यास भने वि.सं. २०७६ देखि सञ्चालन गरिएको राष्ट्रिय औद्योगिक सर्वेक्षणमार्फत प्रारम्भ भएको हो। हाल यस प्रकारका राष्ट्रिय औद्योगिक सर्वेक्षणहरू नियमित रूपमा प्रत्येक पाँच वर्षमा सञ्चालन गर्ने योजना रहेको पाइन्छ। यी सर्वेक्षणहरूले आर्थिक क्रियाकलापका सिमीत समूह (खानी तथा उत्खनन्, औद्योगिक उत्पादन, विद्युत तथा ग्याँस, पानीको आपुर्ति, ढल निकास तथा फोहर व्यवस्थापन) मात्र समेट्दछन्। आर्थिक क्रियाकलापका अधिकांश क्षेत्र समेट्ने गरी बृहद् रूपमा आर्थिक गणना गर्ने कार्य वि.सं. २०७५ मा सञ्चालित पहिलो आर्थिक गणनाबाट सुरू भएको हो।
नेपालको पहिलो आर्थिक गणना अर्थतन्त्र मापनका लागि एउटा महत्वपूर्ण प्रस्थान विन्दुको रूपमा लिन सकिन्छ। उक्त गणनामा नेपालस्तरीय औद्योगिक वर्गिकरण (सम्पूर्ण आर्थिक क्रियाकलापहरू) का कुल २१ वटा आर्थिक क्रियाकलापका खण्डमध्ये १८ वटा खण्डका विवरणहरू संकलन गरिएको थियो। यस गणनाबाट नेपाली अर्थतन्त्रका विविध पक्ष उजागर गर्ने अत्यन्त महत्वपूर्ण सूचनाहरू प्राप्त भएका थिए। उपलब्ध तथ्याङ्कअनुसार वि.सं. २०७५ मा देशभर सञ्चालनमा रहेका आर्थिक प्रतिष्ठानहरूको संख्या ९ लाख २३ हजार ३ सय ५६ रहेको थियो, जसमध्ये ५०.१ प्रतिशत प्रतिष्ठान सरकारी निकायमा दर्ता भएको पाइएको थियो। ती प्रतिष्ठानहरूमा कुल ३२ लाख २८ हजार ४ सय ५७ जना व्यक्ति प्रत्यक्ष रूपमा संलग्न रहेका थिए। यसमा महिला ३७.७ प्रतिशत र पुरुष ६२.३ प्रतिशतको सहभागिता रहेको देखिन्छ। औसतमा हेर्दा प्रति प्रतिष्ठान करिब ३.५ जना व्यक्ति संलग्न रहेको पाइएको थियो। व्यवस्थापनको दृष्टिले हेर्दा ७०.२६ प्रतिशत प्रतिष्ठान पुरुष व्यवस्थापकद्वारा सञ्चालन भएका थिए भने २९.६१ प्रतिशत प्रतिष्ठान महिला व्यवस्थापकको नेतृत्वमा सञ्चालनमा रहेका थिए। औद्योगिक वर्गीकरणअनुसार सबैभन्दा बढी प्रतिष्ठान व्यापार क्षेत्रमा (५३.९४ प्रतिशत) रहेका थिए भने सबैभन्दा कम प्रतिष्ठान घरजग्गा कारोबार क्षेत्रमा (०.०२ प्रतिशत) रहेका थिए। यी र यस किसिमका बहुआयामिक तथा नीतिगत रूपमा अत्यन्त उपयोगी सूचनाहरू उत्पादन गर्नमा पहिलो राष्ट्रिय आर्थिक गणना नेपालको तथ्याङ्क प्रणालीका लागि एक महत्वपूर्ण कोसेढुङ्गा सावित भएको थियो।
पहिलो आर्थिक गणनाको निरन्तरता स्वरूप राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालमा दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ सञ्चालन गर्दैछ। सम्वत् २०८२ चैतदेखि २०८३ असारसम्म जिल्ला आर्थिक गणना कार्यालय स्थापना तथा सञ्चालन गरी गणना कार्य सम्पन गरिंदैछ। गणनाको सन्दर्भ अवधि आ.व. २०८१/८२ र सन्दर्भ दिन २०८१ साल माघ १ गतेलार्इ तोकिएको छ। स्थलगत तथ्याङ्क संकलन कार्य २०८३ वैशाख २ गते देखि २०८३ असार ७ गतेसम्म हुदैछ। यो गणनाको नतिजाले पहिलो आर्थिक गणनाले पहिचान गरेका नेपालको अर्थतन्त्रको संरचना तथा अवस्थामा गत सात वर्षको अवधिमा के कस्ता परिवर्तन भए भन्ने विषयमा महत्वपूर्ण जानकारी प्रदान गर्नेछ। यसका अतिरिक्त, दोस्रो राष्ट्रिय आर्थिक गणनाले नेपालभर सञ्चालनमा रहेका आर्थिक क्रियाकलाप सञ्चालन गर्ने आवासीय प्रतिष्ठानहरूको आधारभूत विवरण सङ्कलन, प्रशोधन, विश्लेषण गरी प्रतिष्ठानहरुको सङ्ख्या, अर्थतन्त्रको क्षेत्रगत संरचना, आकार र वितरणसम्बन्धी विवरण उपलब्ध गराउँदछ। त्यसैगरी, यस गणनाले आर्थिक नीति निर्माण तथा योजना तर्जुमा गर्न आवश्यक पर्ने आधारभूत आर्थिक तथ्याङ्क उपलब्ध गराउनुका साथै राष्ट्रिय लेखा अनुमानलार्इ अध्यावधिक गर्न, मूल्य सूचकाङ्कका आधार वर्ष परिवर्तन गर्न, अर्थशास्त्रीय अध्ययन अनुसन्धान गर्न र नीति पैरवी गर्न आवश्यक पर्ने तथ्याङ्क तथा सूचना उपलब्ध गराउँदछ। साथै, यस गणनाले भविष्यमा सञ्चालन गरिने औद्योगिक सर्वेक्षणहरूका लागि तथ्याङ्कीय फ्रेम समेत उपलब्ध गराउँदछ।
दोस्रो राष्ट्रिय आर्थिक गणनाको दायरा अन्तर्गत पहिलो राष्ट्रिय आर्थिक गणनाको जस्तै नेपालस्तरीय औद्योगिक वर्गिकरण (सम्पूर्ण आर्थिक क्रियाकलापहरू) का कुल २१ वटा आर्थिक क्रियाकलापका खण्डमध्ये १८ वटा खण्डका क्रियाकलापहरू समेटिएका छन्। जसअन्तर्गत कृषि व्यवसाय (दर्ता गरिएका मात्र); खानी तथा उत्खनन्; उद्योग; विद्युत तथा ग्याँस; पानी आपूर्ति, ढल निकास तथा फोहोर व्यवस्थापन; निर्माण; थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत; यातायात तथा भण्डारण; आवास तथा भोजन; सूचना तथा सञ्चार; वित्तीय तथा बिमासम्बन्धी; घरजग्गा कारोवार; पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप; प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलाप; शिक्षा; मानव स्वास्थ्य तथा सामाजिक कार्य; कला, मनोरञ्जन तथा मनोविनोद; तथा अन्य सेवासँग सम्बन्धित क्रियाकलाप पर्दछन्।
दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ मा मुलतः औद्योगिक प्रतिष्ठानहरूको परिचयात्मक विवरण, तिनले सञ्चालन गरेको प्रमुख आर्थिक क्रियाकलाप, संस्थागत क्षेत्र, दर्ता स्थिति, व्यवस्थापक र व्यवसाय धनीको उमेर तथा शैक्षिक योग्यता, साङ्गठनिक अवस्था, रोजगारीसम्बन्धी विवरण, व्यवसाय सञ्चालन (समय, स्थान, भवन) सम्बन्धी विवरण, लेखाको स्वरूप, आम्दानी तथा खर्चसम्बन्धी विवरण, ऋण, लगानी तथा वैदेशिक लगानीसम्बन्धी विवरण, र प्रतिष्ठानले भोगेका समस्यासम्बन्धी विवरण संकलन गरिन्छन्। यस्ता विवरणबाट उद्योग, व्यापार, सेवा, वित्तीय सेवा, सहकारी, गैरसरकारी सेवा तथा सरकारी क्रियाकलाप समेत समेटेर समग्र आर्थिक संरचनाको आधार रेखा तयार गर्न सकिन्छ। आर्थिक गणनाबाट संकलित विवरणको आधारमा अर्थतन्त्रको आकार, औपचारिक तथा अनौपचारिक क्षेत्रको संरचना, रोजगारी सिर्जनाको अवस्था तथा यसको सम्भावना, लैङ्गिक सवालका विषय, शिक्षा र व्यवसायको सहसम्बन्ध जस्ता विषयमा विशिष्टिकृत जानकारी प्राप्त हुन्छ। यसका अतिरिक्त, यस गणनाले आर्थिक क्रियाकलापमा संलग्न जनशक्ति, तलबी रोजगारीमा रहेका कर्मचारी, कुल उत्पादन, मध्यवर्ती उपभोग जस्ता आर्थिक सूचक समेत प्रदान गर्दछ। दोस्रो राष्ट्रिय आर्थिक गणनाबाट प्राप्त तथ्याङ्क एवं सुचना देशको तल्लो तहसम्मका लागि उपलब्ध हुने हुनाले यस गणनाबाट स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकार प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। साथै, निजि क्षेत्रले सरकारसँग नीति पैरवी गर्न, गैर सरकारी क्षेत्रले सरकारलार्इ सहयोग गर्न तथा विद्वत वर्ग वा समस्त नागरिक समाजले सरकारलार्इ सचेत गराउनका लागि समेत यस गणनाबाट उपलब्ध हुने तथ्याङ्क बहुउपयोगी हुने अपेक्षा गर्न सकिन्छ।

दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ मा संकलन गरिने सबै विवरण तथ्याङ्क ऐन, २०७९ को दफा १० बमोजिम गोप्य राख्नु पर्ने कानूनी व्यवस्था रहेको छ। साथै, उक्त ऐनको दफा ५ को उपदफा (४) ले तथ्याङ्क उपलब्ध गराउनु सम्बन्धित सबैको कर्तव्य हुने विषयलार्इ स्मरण गराएको छ। यसरी हेर्दा राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क गोपनियताको प्रत्याभूत गर्नुपर्ने र सम्बन्धित औद्योगिक प्रतिष्ठानहरूले प्रश्नावलीबमोजिमका विवरण उपलब्ध गराउनु पर्ने कानूनी दायित्व देखिन्छ। यसका लागि राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि तयार गरिएका प्रश्नावलीहरू राजपत्रमार्फत प्रकाशन गरी औद्योगिक प्रतिष्ठानहरूबाट विवरण सङ्कलन गर्ने कानुनी र प्रक्रियागत आधार रहेको देखिन्छ। समग्र राष्ट्रिय आर्थिक गणनाका क्रियाकलापहरूको कार्यान्वयन गर्ने आधिकारिक निकायको रूपमा राष्ट्रिय तथ्याङ्क कार्यालय रहेको छ। राष्ट्रिय आर्थिक गणना, २०८२ एउटा राष्ट्रिय अभियान सरह भएकोले यसलार्इ सफल बनाउन सबैको योगदान महत्वपूर्ण रहन्छ। गुणस्तरीय तथ्याङ्क संकलन हुन सकेमा मात्र वास्तविक अवस्थाको जानकारी हुने र सोबमोजिम बन्ने नीति तथा योजना यथार्थपरक हुने हुनाले आर्थिक गणना सफल बनाउन सबैले गम्भिरताका साथ सहयोग गर्नुपर्ने देखिन्छ।
लेखक तनहुँका आर्थिक गणना अधिकारी ऋषिराम सिग्देल हुनुहुन्छ ।


























