म्याग्दे गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

म्याग्दे गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न


म्याग्दे गाउँपालिका तनहुँको चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक अन्तर्गत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा लोकवाणी पब्लिकेशन प्रालिको सहजिकरणमा उक्त कार्यक्रम वडा नम्बर ५ को कार्यालय परिसरमा सम्पन्न गरिएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सीमित स्रोत र साधनका कारण योजनाअनुसार काम गर्न कठिनाइ भइरहेको बताए। चालु आर्थिक वर्षमा ९ करोड आन्तरिक आयको लक्ष्य राखिएकोमा फागुन मसान्तसम्म २ करोड ५० लाख रुपैयाँ मात्र संकलन भएको जानकारी दिँदै उनले आगामी लक्ष्य पूरा गर्न चुनौती रहेको उल्लेख गरे।
उनले कृषि र उत्पादन क्षेत्रमा विशेष जोड दिइएको बताउँदै “उत्पादन बिना समृद्धि सम्भव छैन” भन्ने धारणा व्यक्त गरे। साथै, भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाइएको र सामाजिक सुरक्षा, कृषिमा अनुदान, विपन्नलाई आवास, स्वास्थ्य तथा जनजीविका कार्यक्रम सञ्चालन भइरहेका बताए।
उपाध्यक्ष बालकृष्ण घिमिरेले गरिब तथा पहुँचविहीन नागरिकलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गरिएको बताए। प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जनताको सुझावलाई समेटेर आगामी नीति तथा कार्यक्रम निर्माण गरिने उल्लेख गरे।

कार्यक्रममा विभिन्न शाखा प्रमुखहरूले आ–आफ्नो क्षेत्रका प्रगति विवरण प्रस्तुत गरेका थिए। नागरिकहरूले भने कृषि, पशुपालन, पूर्वाधार, फोहोर व्यवस्थापन, सार्वजनिक संरचना, कर प्रणाली लगायत विषयमा सुझाव तथा गुनासा राखेका थिए।
स्थानीयवासीहरूले मल–बीउको सहज उपलब्धता, अपाङ्गतामैत्री संरचना, सिपमूलक तालिम, सार्वजनिक जग्गा संरक्षण र पारदर्शिता बढाउनुपर्ने माग गरेका थिए। साथै, विकास योजनामा समानता र आवश्यकताका आधारमा काम हुनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा उठेका सुझावहरूलाई आगामी योजना निर्माणमा समेटिने प्रतिबद्धता जनाउँदै गाउँपालिकाले नागरिक सहभागिता अझ सुदृढ बनाउने जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page