तनहुँ हाइड्रोको लापरबाहीले बेलवास क्षेत्र डुवान जोखिममा, स्थानीय आन्दोलित

तनहुँ हाइड्रोको लापरबाहीले बेलवास क्षेत्र डुवान जोखिममा, स्थानीय आन्दोलित


तनहुँ — तनहुँ हाइड्रोले बेलवास क्षेत्रमा गरेको संरचनागत काममा लापरबाही भएको भन्दै सिङ्गो बेलवास क्षेत्र डुवानको उच्च जोखिममा परेको स्थानीयवासीले आरोप लगाएका छन्।
स्थानीयका अनुसार हाइड्रोले नदीको दुवै तर्फ तटबन्ध बनाउने प्रतिवद्धता जनाए पनि एकतर्फ मात्रै निर्माण गर्दा बेलवास क्षेत्र होँचो भई पानी बस्तीमा पस्ने समस्या देखिएको हो। साथै भतेरी क्षेत्रमा बाढी नपसे पनि बेलवासतर्फ मात्र पानी फर्किने अवस्था बनेको उनीहरूको भनाइ छ।
डुवान जोखिम सरोकार समितिका अध्यक्ष यमबहादुर आलेले हाइड्रोले बनाएको संरचनाका कारण बेलवास क्षेत्र उच्च जोखिममा पुगेको बताए। उनका अनुसार CRP रिपोर्टले समेत ADB को डिजाइन/कार्यशैलीमा त्रुटि भएको देखाएको छ। गत वर्षको बाढीले दुई पटकसम्म बस्ती डुवानमा पारेको र पशुधन तथा घरायसी संरचनामा ठूलो क्षति पुगेको उनले बताए।
सरोकार समितिका उपाध्यक्ष बलराम तिवारीले नदीको प्राकृतिक बहाव परिवर्तन नगरी यथास्थानमा व्यवस्थापन गर्ने सहमति भए पनि कार्यान्वयन नभएको आरोप लगाए। समस्या समाधान नभए मुआव्जा दिएर स्थानान्तरण गर्नुपर्ने मागसमेत स्थानीयले अघि सारेका छन्।
सोमबार सयौँ स्थानीयवासी जुलुससहित हाइड्रो कार्यालय पुगेका थिए। उनीहरूले प्रमुख श्याम भण्डारीलाई ध्यानाकर्षण गराउँदै तत्काल समाधानको माग गरेका छन्।

यता हाइड्रो प्रमुख भण्डारीले भने बेलवासबासीको मागप्रति संस्था सकारात्मक र संवेदनशील रहेको जनाउँदै विस्तृत प्रतिवेदन आएपछि आवश्यक थप कार्य अघि बढाइने प्रतिवद्धता व्यक्त गरेका छन्।
माग सम्बोधन नभए थप कडा आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page