शुक्लागण्डकीकाे सार्वजनिक सुनुवाइमा नागरिककाे गुनासै गुनासाे
तनहुँ — शुक्लागण्डकी नगरपालिका मा आज सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयवासीहरूले नगरप्रति विविध गुनासा र सुझाव राख्दै सुधारका लागि ठोस पहल गर्न आग्रह गरेका छन्।
नगरपालिकाको आयोजना तथा शुक्लागण्डकी पत्रकार मञ्च को समन्वयमा आयोजित कार्यक्रममा नगरप्रमुख कृष्णराज पण्डित, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल लगायत शाखा प्रमुखहरूले स्थानीयका जिज्ञासा र गुनासोमाथि जवाफ दिएका थिए।
कार्यक्रममा सहभागीहरूले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। विकास निर्माणका काममा गुणस्तर कायम गर्न, बढ्दो भूमिकर पुनरावलोकन गर्न, राजमार्ग दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न तथा दुलेगौंडा–लिलाचोक सडक निर्माण छिटो सम्पन्न गर्नुपर्ने माग उठाइएको थियो। साथै सेती नदी मा बढ्दो प्रदूषण नियन्त्रण गर्नुपर्ने विषय पनि प्राथमिकताका साथ उठाइयो।
सुनुवाइमा शहरी व्यवस्थापनसँग जोडिएका समस्या प्रमुख रूपमा उठेका थिए। स्थानीय विष्णु महतले घरबाट निस्कने फोहोर पानी सिधै नालीमा हालिँदा दुर्गन्ध फैलिएको, छतबाट झर्ने पानीले सडक क्षतिग्रस्त बनाएको र फुटपाथ प्रयोगकर्ताले असुविधा भोग्नुपरेको गुनासो गरे। फुटपाथमै मोटरसाइकल पार्किङ, वर्कसप सञ्चालन तथा सडकमै सवारी धुने प्रवृत्तिले नयाँ संरचनामा समेत असर परेको भन्दै यसको जिम्मेवारी स्पष्ट गर्न उनले माग गरे।
अन्य सहभागीहरू दुर्गा बहादुर महत, महेश्वर भट्टराई र विजय जोशीलगायतले सुधारका काममा कुनै कानुनी अवरोध भए त्यसबारे स्पष्ट जानकारी दिनुपर्ने बताएका थिए। जवाफमा नगरप्रमुख पण्डितले केही संरचना निर्माणाधीन अवस्थामा रहेकाले तत्काल समाधान कठिन भए पनि अब यस्ता समस्या प्राथमिकतामा राखेर सम्बोधन गरिने प्रतिबद्धता जनाए।
नगरप्रमुख पण्डितले आफ्नो चार वर्षे कार्यकालमा विशेषगरी शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको दाबी गरे। प्रमुख प्रशासकीय अधिकृत पौडेलले बेलचौतारामा कृषि उपज संकलन केन्द्र सञ्चालनका लागि महिला बहुउद्देश्यीय विकास सहकारीलाई जिम्मेवारी दिइएको जानकारी गराए। साथै क्रसर उद्योग नियमनका लागि स्पष्ट कानुनी व्यवस्था अभावले चुनौती सिर्जना गरेको उनको भनाइ थियो।

राजन उपाध्याय को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव अशोक विश्वकर्मा ले नागरिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सञ्चालन हरि खरेल ले गरेका थिए।


























