विद्युतीय चुलोतर्फ उपभोक्ताको आकर्षण बढ्दै, तनहुँमा बिक्री १२ गुणाले वृद्धि

विद्युतीय चुलोतर्फ उपभोक्ताको आकर्षण बढ्दै, तनहुँमा बिक्री १२ गुणाले वृद्धि


तनहुँ, वैशाख — अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य निरन्तर बढ्दै गएपछि उपभोक्ताहरू विद्युतीय चुलोतर्फ आकर्षित हुन थालेका छन्। ग्यासको तुलनामा इन्डक्सन र इन्फ्रारेड प्रविधिमा आधारित विद्युतीय चुलो सस्तो, सुरक्षित र वातावरणमैत्री देखिएपछि तनहुँमा यसको प्रयोग उल्लेख्य रूपमा बढेको छ।
व्यास नगरपालिका–३ सफा सडकस्थित जिआर ई. सप्लायर्सका सञ्चालक गौरव खड्काका अनुसार विद्युतीय चुलोको बिक्री अघिल्लो वर्षको तुलनामा करिब १२ गुणाले वृद्धि भएको छ। “पहिला एक वर्षमा हुने व्यापार अहिले एक महिनामै भइरहेको छ,” उहाँले बताउनुभयो। दैनिक करिब २० जना ग्राहक विद्युतीय चुलो खरिद तथा जानकारीका लागि आउने गरेका छन्।
बजारमा अहिले तीन हजारदेखि १८ हजार रुपैयाँसम्मका चुलो उपलब्ध छन्। दुई वर्षको वारेन्टी, सहज मर्मत सुविधा र प्रयोगमा सरल भएकाले उपभोक्ताको विश्वास बढ्दै गएको व्यवसायीहरूले बताएका छन्।
ग्यास आयातमा वार्षिक अर्बौँ रुपैयाँ विदेशिने अवस्थाबीच स्वदेशी विद्युत प्रयोगले व्यापार घाटा घटाउन सहयोग पुग्ने देखिएको छ। एलायन्स क्लब अफ दमौलीका अध्यक्ष एवम् उपभोक्ता अमित कैनीले विद्युतीय चुलो ग्यासभन्दा किफायती र सुरक्षित रहेको अनुभव सुनाउनुभयो। “यसले डलर बाहिर जान रोकिन्छ र देशकै ऊर्जा उपयोग बढ्छ,” उहाँले भन्नुभयो।
व्यास नगरपालिका–१० बैरेनीका कृष्ण जिसीले विद्युतीय चुलो प्रयोगपछि घरायसी खर्च आधा घटेको बताउनुभयो। उहाँका अनुसार विद्युत अवरुद्ध हुँदा मात्र ग्यास प्रयोग गर्ने गरिएको छ।
विद्युतीय चुलो प्रयोगले भान्सामा धुवाँ नहुने भएकाले महिलाको स्वास्थ्यमा सुधार हुनुका साथै वन तथा वातावरण संरक्षणमा समेत सकारात्मक प्रभाव परेको देखिएको छ। परम्परागत इन्धनको सट्टा आधुनिक ऊर्जाको प्रयोग बढाउन स्थानीय तहले पनि पहल गर्नुपर्ने तनहुँ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष वैकुण्ठनाथ मिश्रले बताउनुभयो।

नेपाल उर्जा प्रतिष्ठानका अनुसार सुरक्षित प्रयोगका लागि १५ एम्पियर क्षमताको विद्युत लाइन र गुणस्तरीय उपकरण छनोट गर्नु उपयुक्त हुन्छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page