आदिकवि भानुभक्त क्याम्पसमा उपप्राध्यापक घिमिरेको भावपूर्ण बिदाइ
दमौली, वैशाख — आदिकवि भानुभक्त क्याम्पसमा उपप्राध्यापक रामभक्त घिमिरेको बिदाइ कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारको अध्यक्षतामा आयोजित कार्यक्रममा २५ वर्ष ५ महिनाको लामो शैक्षिक सेवापछि सेवा निवृत्त हुन लाग्नुभएका घिमिरेलाई सम्मानसहित बिदाइ गरिएको हो।
व्यवस्थापन संकाय अन्तर्गत विविएस र एमबिएस तहमा अध्यापन गर्दै आउनुभएका घिमिरेले सहायक प्राध्यापकबाट सुरु गरेको यात्रा उपप्राध्यापकसम्म पुर्याउनुका साथै व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी समेत सफलतापूर्वक सम्हाल्नुभएको थियो।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनार, उपाध्यक्ष श्रीराम कार्की, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, नेपाल पब्लिक क्याम्पस प्राध्यापक सङ्घका प्रमुख राजन घिमिरे, व्यवस्थापन विभाग प्रमुख जनक काफ्ले, कर्मचारी संघका उपाध्यक्ष सुदर्शन पोख्रेल, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष अनुप आले तथा विद्यार्थी प्रतिनिधि मनिषा रानाभाटले मन्तव्य व्यक्त गर्दै घिमिरेको योगदानको उच्च प्रशंसा गर्नुभएको थियो।
वक्ताहरूले उहाँको शैक्षिक उन्नति, विद्यार्थी संख्या वृद्धि, नतिजा सुधार तथा संस्थागत विकासमा खेलेको भूमिकाको चर्चा गर्दै सेवा निवृत्तिपछिको जीवन सुखमय र प्रेरणादायी रहोस् भन्ने शुभकामना व्यक्त गरे।
क्याम्पसको कठिन समयमा समेत १४–१५ महिनासम्म तलब नपाउँदा पनि सेवामा निरन्तरता दिएको उल्लेख गर्दै उहाँको समर्पणको उच्च मूल्यांकन गरिएको थियो। साथै, क्याम्पसको भौतिक पूर्वाधार निर्माण तथा छात्रवृत्ति कोष स्थापना जस्ता कार्यमा उहाँको महत्वपूर्ण योगदान रहेको बताइएको छ।
सम्मान कार्यक्रमका अवसरमा अध्यक्ष सुनार, उपाध्यक्ष कार्की, क्याम्पस प्रमुख हड्खले, प्राध्यापक संघ अध्यक्ष राजन घिमिरे तथा विभाग प्रमुख जनक काफ्लेले दोसल्ला, फुलमाला, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै घिमिरेले क्याम्पसले आफूलाई समाजमा चिनाएको उल्लेख गर्दै प्राप्त ज्ञान, सीप र अनुभवलाई आगामी दिनमा समाज सेवामा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आवश्यक पर्दा क्याम्पसलाई सधैं सहयोग गर्न तयार रहने पनि बताउनुभयो।

उक्त कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी, स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी, सदस्य तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


























