तनहुँबाट केन्द्रीय सदस्यमा पूर्व अध्यक्ष श्रेष्ठलाई अगाडि बढाउने उवासंघको निर्णय
तनहुँ, वैशाख १४ ।
नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनलाई लक्षित गर्दै तनहुँ उद्योग वाणिज्य संघ (उवासंघ)ले महत्वपूर्ण निर्णय गरेको छ। संघले आफ्ना पूर्व अध्यक्ष पविन्द्र कुमार श्रेष्ठलाई गण्डकी प्रदेश (भौगोलिक तर्फ) बाट केन्द्रीय सदस्य पदमा अगाडि बढाउने निर्णय गरेको हो।
उवासंघको बैठकले श्रेष्ठलाई अनुभवी, सक्षम तथा व्यवसायीहरूको हितमा निरन्तर काम गर्दै आएको नेतृत्वका रूपमा मूल्यांकन गर्दै सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय गरेको जनाएको छ। श्रेष्ठले यसअघि संघको अध्यक्षका रूपमा सफल कार्यकाल पूरा गरिसकेका छन्।
संघका पदाधिकारीहरूका अनुसार महासंघको आसन्न निर्वाचनमा श्रेष्ठलाई अत्यधिक मतका साथ विजयी गराउन जिल्लाभरका व्यवसायीहरूलाई एकताबद्ध हुन आग्रह गरिएको छ। गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा श्रेष्ठले व्यवसायीहरूको आवाज सशक्त रूपमा उठाउने विश्वास समेत व्यक्त गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन २०८३ साल बैशाख २१ र २२ गते हुने कार्यक्रम रहेको छ।


























