ब्यासका ६ अपाङ्गता स्रोत विद्यालयको समीक्षा बैठक सम्पन्न
व्यास नगरपालिका अन्तर्गत सञ्चालित ६ वटा अपाङ्गता स्रोत विद्यालयहरूको समग्र अवस्था र सुधारका पक्षबारे छलफल गर्न आयोजित समीक्षा बैठक सम्पन्न भएको छ। नगरपालिकाका लेखाजोखा संयोजक ईश्वर बास्तोलाको संयोजकत्व तथा बुद्ध दाहाल बहिरा विद्यालयकी प्रअ कमला पौडेलको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।
बैठकले शिक्षण विधिलाई केवल पेशा वा जागिरका रूपमा मात्र नभई मानवीय सेवाका रूपमा लिनुपर्ने निष्कर्ष निकालेको छ। विभिन्न विद्यालयका १६ जना शिक्षक प्रतिनिधिहरूले स्रोत कक्षामा देखिएका समस्या र चुनौतीहरूबारे गम्भीर छलफल गरेका थिए। छलफलका क्रममा भौतिक पूर्वाधारको अभाव, विद्यार्थी संख्याको अनुपातमा आया (सहयोगी) को कमी तथा अभिभावकमा पर्याप्त सचेतनाको अभाव मुख्य समस्याका रूपमा औंल्याइयो।
त्यसैगरी, ठूलो उमेरमा विद्यालय आउने विद्यार्थीहरूको व्यवहार र अवस्था मूल्याङ्कन गरेर मात्र भर्ना गर्ने, विद्यार्थीहरूसँग प्रयोग गरिने भाषा तथा उनीहरूको स्वास्थ्यसम्बन्धी सामग्रीमा विशेष संवेदनशीलता अपनाउने निर्णय बैठकले गरेको छ।
महेन्द्रज्योति माध्यमिक विद्यालयमा लामो समयदेखि रिक्त रहेको शिक्षक दरबन्दी पूर्ति हुन सफल भएकोमा बैठकले खुशी व्यक्त गरेको छ। साथै, आगामी दिनमा नगरपालिका तथा विभिन्न सामाजिक संघसंस्थासँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने योजना समेत तय गरिएको छ।

अपाङ्गता भएका बालबालिकाको शैक्षिक भविष्य सुनिश्चित गर्न स्रोत कक्षाहरूको भूमिका थप प्रभावकारी बनाउनुपर्ने र देखिएका चुनौतीहरूलाई एकीकृत रूपमा समाधान गर्नुपर्नेमा सबै सहभागीहरूले ऐक्यबद्धता जनाएका छन्।


























