देवघाटकाे कालीगण्डकी कोरिडोर केन्द्रित पशुपन्छी तथा मत्स्य उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सम्पन्न

तनहुँको देवघाट क्षेत्रमा कालीगण्डकी कोरिडोर केन्द्रित पशुपन्छी तथा मत्स्य उत्पादन तथा प्रवर्द्धन कार्यक्रम २०८२/८३ अन्तर्गत विभिन्न कृषिमुखी तथा पशुपालन प्रवर्द्धनका कार्यक्रम सम्पन्न गरिएको छ।
गोहिगार कृषि सहकारी संस्था लि. देवघाटमार्फत सञ्चालन भएको उक्त कार्यक्रममा कुल २० लाख रुपैयाँ बराबरको योजना कार्यान्वयन गरिएको हो। कार्यक्रममा ९० प्रतिशत भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको तथा १० प्रतिशत सहकारीको लागत साझेदारी रहेको जनाइएको छ।



कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख रविनशन अधिकारीकाे प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा अधिकारीले व्यवसायिक पशुपालनलाई प्रवर्द्धन गर्दै कृषकको आयआर्जन वृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।
उत्पादन वृद्धि गर्ने उद्देश्यले ३ वटा नयाँ ठूला गोठ निर्माण, ४ वटा साना गोठ निर्माण तथा १९ वटा पुराना गोठ मर्मतसम्भार गरिएको सहकारीले जनाएको छ।
त्यसैगरी, २०८३ वैशाख २६ र २७ गते व्यवसायिक गाई–भैँसी पालन सम्बन्धी तालिम सञ्चालन गरिएको थियो। तालिममा कृषकहरुलाई आधुनिक पशुपालन, दुग्ध उत्पादन वृद्धि तथा पशु स्वास्थ्य व्यवस्थापनसम्बन्धी जानकारी प्रदान गरिएको थियो।
साथै, पशु स्वास्थ्य शिविर सञ्चालन गरी विभिन्न भिटामिन, मिनरल तथा जुका नियन्त्रणसम्बन्धी औषधि वितरण गरिएको थियो।

स्वच्छ दुग्ध उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले गाई–भैँसी पालक कृषकहरुलाई ५० वटा स्टेनलेस स्टिल मिल्क क्यान तथा काउ म्याट वितरण कार्यक्रम समेत सम्पन्न गरिएको प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

























