भिमाद बजारका अधिकांश पसलमा मूल्यसूची छैन, म्याद गुज्रिएका खाद्य पदार्थ खुलेआम बिक्रीमा

भिमाद बजारका अधिकांश पसलमा मूल्यसूची छैन, म्याद गुज्रिएका खाद्य पदार्थ खुलेआम बिक्रीमा

भिमाद बजारका होटल तथा किराना पसलमा गरिएको बजार अनुगमनका क्रममा अधिकांश व्यवसायमा मूल्यसूची नराखिएको, केही पसल दर्ता तथा नवीकरण बिना सञ्चालन भएको तथा ठूलो परिमाणमा म्याद नाघेका खाद्य तथा पेय पदार्थ बिक्रीका लागि राखिएको भेटिएको छ।


जिल्ला बजार अनुगमन समिति संयोजक एवं एकीकृत सेवा कार्यालय तनहुँका प्रमुख ईश्वरीप्रसाद रेग्मी को नेतृत्वमा भिमाद बजार क्षेत्रमा गरिएको अनुगमनमा त्यस्तो भेटिएको हो। अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय तनहुँका गोपाल पोख्रेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका सन्तोष थापा मगर, भिमाद नगरपालिका का सूर्यप्रसाद पौडेल, तनहुँ उद्योग वाणिज्य संघ भिमाद का सभापति चतुर्भुज सुवेदी, प्रहरी नायव निरीक्षक प्रकाश पौडेल, एकीकृत सेवा कार्यालयका चिजकुमार श्रेष्ठ र सूर्यबहादुर थापा सहित सञ्चारकर्मी एवं नगरप्रहरीको सहभागिता रहेको थियो।
अनुगमन टोलीले होटल तथा खाद्यान्न पसलमा मूल्यसूची राखिएको/नराखिएको, व्यवसाय दर्ता तथा नवीकरण, खाद्य वस्तुको गुणस्तर र शुद्धता, नापतौल तथा वस्तु वा सेवाको सहज आपूर्ति भए/नभएको विषयमा निरीक्षण गरेको थियो।


अनुगमनका क्रममा पाहुना खाजा घरमा मूल्यसूची नराखिएको तथा कोक, फेन्टा र स्लाइसजस्ता पेय पदार्थ म्याद नाघेको अवस्थामा भेटिएपछि जफत गरिएको छ। एरिका किराना पसलबाट लेज र मिट मसला म्याद नाघेको अवस्थामा भेटिएपछि जफत गरिएको टोलीले जनाएको छ। सरला किराना एण्ड फलफूल पसल भने सन्तोषजनक अवस्थामा रहेको पाइएको थियो।
त्यस्तै पुष्पा एण्ड होम किराना पसलले फर्म नवीकरण नगरेको पाइएको छ भने युनिक भिमाद रेष्टुरेन्टमा चार वटा टुबोर्ग बियर म्याद नाघेको अवस्थामा भेटिएको थियो। थानिमाइ डेरी फलफूल तथा किराना पसलमा मूल्यसूची नराखिएको र म्याद नाघेको पाउरोटी फेला परेको थियो।


यस्तै जनसेवा किराना पसलमा मूल्यसूची नराखिएको तथा मिट मसला र पाउरोटी म्याद नाघेको अवस्थामा भेटिएपछि जफत गरिएको छ। विशाल किराना पसलमा पनि मूल्यसूची नराखिएको पाइएको छ भने पेप्सी, क्याम्पा लेमन, मिन्ट लेमन लगायतका पेय पदार्थ म्याद नाघेको अवस्थामा फेला परेका थिए।
पंगेनी किराना पसलमा मूल्यसूची नराखिएको र ड्यु, फेन्टा, ओरियो बिस्कुट तथा क्रेकर लेमन फेन्टा म्याद नाघेको अवस्थामा भेटिएपछि जफत गरिएको छ। लम्साल स्टोर्सबाट म्याद नाघेको मिट मसला जफत गरिएको छ।
सुलभ सिर्जना स्टोर्समा मूल्यसूची नराखिएको तथा हर्लिक्स, डाबर हनी र गुलाफ जामुन म्याद नाघेको अवस्थामा भेटिएको थियो। मिलन एण्ड अनुपा खाजा घर भने सन्तोषजनक रहेको टोलीले जनाएको छ।
गाजुली किराना पसलमा मूल्यसूची नराखिएको र सम्राट मिट मसला, नेविको बिस्कुट, चियापत्ती, करेन्ट खुर्सानी, करेन्ट मसला तथा पाउरोटी म्याद नाघेको अवस्थामा भेटिएको थियो। त्यस्तै निम्बु र फ्रुटी लिक्विड लगायतका सामान पनि म्याद नाघेको अवस्थामा फेला परेपछि जफत गरिएको छ।
गाउँले खाजा घरमा मूल्यसूची नराखिएको तथा स्प्राइट, कोक र फेन्टाजस्ता पेय पदार्थ म्याद नाघेको अवस्थामा फेला परेको थियो। लक्ष्मी किराना पसलमा मूल्यसूची नराखिएको र निम्बुपानी तथा सुजी म्याद नाघेको अवस्थामा बरामद गरिएको छ। निरज किराना एण्ड फलफूल पसलमा पनि मूल्यसूची नराखिएको पाइएको टाेली संयाेजक रेग्मीले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा अधिकांश व्यवसायमा मूल्यसूची नराखिएको, कतिपय पसल दर्ता तथा नवीकरण बिना सञ्चालन गरिएको तथा म्याद नाघेका खाद्य सामग्री बिक्रीका लागि राखिएको पाइएकाले व्यवसायीलाई सचेत गराइएको अनुगमन टोलीमा रहेका भिमाद नगर उद्योग बाणिज्य संघका अध्यक्ष चतुर्भुज सुवेदीले बताउनुभयाे । टोलीले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा लापरबाही नगर्न व्यवसायीलाई निर्देशन दिएको भिमाद नगरपालिका उपप्रमुख शारदा खनालले बताउनुभयो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page