कृषि विकास कार्यालय तनहुँद्वारा ७५ प्रतिशत अनुदानमा बीउ वितरण तथा बहुक्षेत्रगत अनुगमन सम्पन्न

कृषि विकास कार्यालय तनहुँद्वारा ७५ प्रतिशत अनुदानमा बीउ वितरण तथा बहुक्षेत्रगत अनुगमन सम्पन्न


तनहुँ, भिमाद — कृषि विकास कार्यालय तनहुँले आ.व. ०८२/०८३ अन्तर्गत सञ्चालन गरेका कृषि विकास कार्यक्रमहरूको बहुक्षेत्रगत सहभागितात्मक अनुगमन तथा सामग्री हस्तान्तरण कार्यक्रम भिमादमा सम्पन्न गरेको छ ।
कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा जिल्ला कृषि विकास कार्यालय तनहुँमार्फत कृषकलाई ४०० किलो चैतेधानको बीउ हस्तान्तरण गरिएको छ । कृषकको उत्पादन वृद्धि, खेती विस्तार तथा आत्मनिर्भर कृषिलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित उक्त बीउ वितरण गरिएको हो ।
त्यसैगरी कार्यक्रम अन्तर्गत त्रिपाल वितरण, मकै–कोदो–धान पिस्ने मिल हस्तान्तरण तथा २३१ मिटर कुलो निर्माण कार्यको स्थलगत निरीक्षण गरिएको छ । निरीक्षणका क्रममा सञ्चालन भइरहेका कार्यक्रमहरूको प्रभावकारिता, कार्यान्वयन अवस्था तथा कृषकस्तरमा पुगेको लाभबारे मूल्यांकन गरिएको थियो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद जितप्रकाश आलेले कृषकलाई लक्षित अनुदान कार्यक्रमहरूलाई अझ प्रभावकारी र पारदर्शी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उत्पादनमुखी कृषि प्रणालीमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले कृषकको जीवनस्तर उकास्न यस्ता कार्यक्रमहरू निरन्तर र परिणाममुखी हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारीले कार्यालयले कृषक लक्षित कार्यक्रमलाई व्यवहारिक र उत्पादन वृद्धि केन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अनुदान र सामग्री वितरण मात्र नभई त्यसको सही उपयोग र अनुगमनलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो ।


भिमाद साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायण प्रसाद खनालकाे अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस भिमाद नगर सभापति अर्विन श्रेष्ठ, कृषि विकास कार्यालयका किरण परियार र कृष्णबहादुर कार्की तथा सिद्ध बहुउद्देश्यीय सहकारीका व्यवस्थापक रविन्द्र खनाल लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page