म्याग्देमा महिलालाई आत्मनिर्भर बनाउन क्रिस्टल गहना बनाउने तालिम सम्पन्न

म्याग्दे,
म्याग्दे गाउँपालिका–१ गुणादीमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत महिलाका लागि सञ्चालन गरिएको ७ दिने क्रिस्टलका गहना तथा सजावट सामग्री बनाउने सिपमूलक तालिम सम्पन्न भएको छ ।


गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा सम्पन्न तालिममा वडा नं. १ का १८ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । तालिम अवधिभर सहभागीहरूलाई क्रिस्टलका माला, पोते, औँठी, टप, चुरा लगायतका आकर्षक सजावट सामग्रीहरू बनाउन व्यवहारिक रूपमा प्रशिक्षण दिइएको थियो । कम लगानीमै घरमै बसेर साना तथा घरेलु उद्योग सञ्चालन गर्न सकिने सीप सिकाइएकाले सहभागीहरू उत्साहित भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले तालिमलाई केवल सिकाइमा मात्र सीमित नराखी व्यवहारमा उतारेर आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिए । उनले सिकेको सीपलाई प्रयोगमा ल्याएर आत्मनिर्भर बन्न सकिए मात्र कार्यक्रमको वास्तविक उद्देश्य पूरा हुने बताए । साथै, गाउँपालिकाले गरेका विकास तथा सीपमूलक कार्यक्रमको प्रचारप्रसार अझ प्रभावकारी हुनुपर्ने पनि उनले उल्लेख गरे ।
उपाध्यक्ष बालकृष्ण घिमिरेले यस्ता तालिमहरू महिलाका लागि वैकल्पिक आयआर्जनको महत्वपूर्ण स्रोत बन्न सक्ने बताउँदै उत्पादित सामग्रीको बजारीकरणका लागि गाउँपालिका सहजीकरण गर्न तयार रहेको जानकारी दिए ।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले सीप सिकेर मात्र नबस्न आग्रह गर्दै “सुस्ताएर बस्ने होइन, सक्रिय भएर आम्दानीतर्फ लाग्नुपर्ने” बताए । उनले उद्यमशीलता विकासका लागि गाउँपालिका आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गरे ।
वडा नं. १ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मणिभद्र वाग्लेले “सिकेको सीपलाई उत्पादनमा नलगाए त्यसको अर्थ नहुने” भन्दै प्रमाणपत्रलाई सिरानीमा राखेर नभई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । कार्यपालिका सदस्य थममाया विकले पनि तालिमले महिलामा उद्यमशीलताको आत्मविश्वास बढाएको बताइन् ।
तालिमका सहभागी हरिकला खनालले तालिम उपयोगी रहेको भन्दै गाउँपालिकालाई धन्यवाद दिइन् । उनले सिकेको सीपलाई व्यवहारमा उतारेर आयआर्जन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
तालिमको सहजीकरण म्याग्दे गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले गरेका थिए भने अनुभवी प्रशिक्षक साना मियाँले सहभागीहरूलाई क्रिस्टलका गहना तथा सजावट सामग्री निर्माणका विविध पक्षमा प्रशिक्षण दिएकि थिइन् ।
गाउँपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत आगामी आर्थिक वर्ष २०८२/०८३ मा थप २५ जनालाई सिपमूलक तालिम दिने लक्ष्य राखेको छ । साथै, स्थानिय उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना र उद्यमशीलता विकासमार्फत आर्थिक समृद्धि हासिल गर्ने उद्देश्य गाउँपालिकाको रहेको आर्थिक बिकास शाखा प्रमुख न्याैपानेले बताए ।


























