रूखमाथि झुन्डिएको विद्युत् तार, मकैबारीमा लत्रिएको लाइन : “मान्छे मरेपछि मात्रै प्राधिकरण जाग्ने हो ?”
तनहुँको म्याग्दे गाउँपालिकाका विभिन्न बस्तीमा वर्षौंदेखि जोखिमपूर्ण अवस्थामा रहेका विद्युत् पोल र नाङ्गा तारका कारण स्थानीय त्रसित बनेका छन्। रूखमाथिबाट तार तानिएको, मकैबारीतिर लत्रिएको र सडक छेउमै नाङ्गा लाइन झुन्डिएको अवस्थाले जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
विशेषगरी म्याग्दे–७ रानिश्वारा टोल विकास संस्था अन्तर्गत पर्ने रानिश्वारा–कुसुण्डे मोटरमार्ग वरिपरि क्षेत्र अहिले उच्च जोखिममा रहेको बताइएको छ। स्थानीयका अनुसार केही स्थानमा तार यति तल झरेको छ कि मान्छे, चौपाया र खेतीपाती सबै जोखिममा परेका छन्। हावाहुरी वा वर्षात्को समयमा झन् ठूलो दुर्घटना हुन सक्ने डरले स्थानीय रातदिन त्रासमा बाँचिरहेका छन्।
गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले विद्युत् प्राधिकरणको चरम लापरवाहीका कारण स्थानीयको ज्यान जोखिममा परेको आरोप लगाएका छन्।
“रूखमाथिबाट तार गएको छ, मकैबारीतिर लत्रिएको छ, मान्छे मर्ने अवस्था छ। बारम्बार जानकारी गराउँदा पनि विद्युत्ले आलटाल मात्रै गरेको छ,” उनले भने, “अब त्यो तारबाट कुनै दुर्घटना भयो भने त्यसको सम्पूर्ण जिम्मेवारी प्राधिकरणले लिनुपर्छ।”
स्थानीयका अनुसार यो समस्या नयाँ होइन। चार वर्षदेखि एउटै समस्या दोहोरिँदा पनि सम्बन्धित निकायले स्थायी समाधान नगरेपछि जनप्रतिनिधि नै आक्रोशित बनेका हुन्।
गाउँपालिकाले जोखिम न्यूनीकरणका लागि उक्त क्षेत्रमा वैकल्पिक लाइन विस्तार गर्न उपभोक्तासँग लागत साझेदारीमा नयाँ जीआई पोल गाड्ने र कालो तारसहित सुरक्षित लाइन विस्तार गर्ने योजना अघि बढाउन भनेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमै ४ लाख रुपैयाँ विनियोजन समेत गरेको जनाएको छ।
यता म्याग्दे–३ कुलचौरको दलित बस्तीमा पनि विद्युत् समस्या वर्षौंदेखि अलपत्र अवस्थामा रहेको खुलेको छ। करिब ८० घरधुरी रहेको उक्त बस्तीमा लामो समयदेखि लाइन विस्तार र व्यवस्थापनको काम रोकिएको स्थानीयको गुनासो छ। पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि गाउँपालिकाको टोली नै विद्युत् कार्यालय पुग्न बाध्य भएको हो।
समस्याको गम्भीरता बुझाउन गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी तथा वडा नं. ७ का अध्यक्ष बसन्तकुमार श्रेष्ठसहितको टोली चापाघाटस्थित विद्युत् कार्यालय पुगेको थियो। टोलीले कार्यालयका सुचना अधिकारी इन्जिनियर बेनी नेपालीलाई ज्ञापनपत्र बुझाउँदै तत्काल काम अघि बढाउन दबाब दिएको जनाएको छ।

ज्ञापनपत्र बुझ्दै इन्जिनियर बेनी नेपालीले प्रक्रिया अगाडि बढिसकेको र सकेसम्म छिटो काम थालिने बताएका छन्। तर स्थानीय भने आश्वासनभन्दा काम चाहिएको बताउँछन्।
स्थानीयवासीको प्रश्न छ— “मान्छे मरेपछि मात्रै सम्बन्धित निकाय जाग्ने हो ?”


























