दमौलीको सफा सडकमा पार्किङ निषेध गर्ने निर्णयप्रति स्थानीय व्यवसायीको विरोध

दमौलीको सफा सडकमा पार्किङ निषेध गर्ने निर्णयप्रति स्थानीय व्यवसायीको विरोध


तनहुँको दमौली क्षेत्रमा बढ्दो सवारी चापलाई व्यवस्थित बनाउन व्यास नगरपालिका ले नयाँ ट्राफिक व्यवस्थापन योजना लागू गर्ने भएको छ । नगरपालिकामा बसेको सम्बन्धित निकायको बैठकले आगामी जेठ १० गतेदेखि दमौलीको ‘सफा सडक’ क्षेत्रमा सवारी साधन पार्किङ गर्न पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो ।
नगरपालिकाका अनुसार सफा सडक क्षेत्रमा दुवैतर्फी सवारी सञ्चालन गरिने भएकाले सडक किनारमा पार्किङ गर्दा आवागमनमा अवरोध सिर्जना हुने देखिएको छ । त्यसैले सडकका दुवै किनारमा कुनै पनि प्रकारका सवारी साधन रोक्न वा पार्किङ गर्न नपाइने व्यवस्था गरिएको जनाएको छ ।
यससँगै वैकल्पिक पार्किङ व्यवस्थापनका लागि शाखा सडक, विभिन्न चोक, नगरपालिकाको पार्किङ ग्राउण्ड तथा अनसन चौतारी क्षेत्रमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सडकलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यसहित यस्तो कदम चालिएको उल्लेख गर्दै सर्वसाधारणलाई नयाँ नियमको पालना गरी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ ।
यता उक्त निर्णयप्रति सफा सडक टोलका स्थानीय तथा व्यवसायीहरूले भने असन्तुष्टि जनाएका छन् । आज करिब ६० जना स्थानीय तथा व्यवसायीहरूको बैठक बसेर उक्त निर्णय कुनै हालतमा कार्यान्वयन हुन नसक्ने बताएका हुन् ।


सफा सडक टोलका सदस्य बिन्दु कुमार श्रेष्ठले “यो हाम्रो सफा सडक टोल सुकाउने र व्यवसायीहरूलाई विस्थापित गराउने खेल हो, यस्तो निर्णय कुनै हालतमा पास हुँदैन,” भन्दै विरोध जनाए ।
सफा सडक टोल उपाध्यक्ष एवं संयोजक पवित्रा खनालको अध्यक्षतामा बसेको बैठकले नगरपालिकाको निर्णयप्रति औपचारिक आपत्ति जनाउँदै मेयर बैकुण्ठ न्यौपाने लाई ज्ञापनपत्र बुझाउने तथा निर्णयबारे स्पस्टता माग गर्ने निर्णय समेत गरेको जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page