नेपाल मगर संघको उपमहासचिवमा तनहुँका सिद्धान्त गर्जा मगर भारी मतसहित विजयी

नेपाल मगर संघको उपमहासचिवमा तनहुँका सिद्धान्त गर्जा मगर भारी मतसहित विजयी


काठमाडौं — नेपाल मगर संघको १३औँ राष्ट्रिय महाधिवेशनबाट तनहुँका सिद्धान्त गर्जा मगर उपमहासचिव पदमा भारी मतसहित विजयी भएका छन्। महाधिवेशनअघि नै नेपाल मगर संघ गण्डकी प्रदेश समितिले उनलाई सर्वसम्मत रूपमा नेतृत्वमा अघि बढाउने निर्णय गरेको थियो।
गण्डकी प्रदेशको तेस्रो प्रदेश बैठकले सिद्धान्तलाई केन्द्रीय नेतृत्वमा पुर्‍याउने रणनीति तय गरेपछि उनी देश दौडाहामा सक्रिय भएका थिए। महाधिवेशनको पूर्वसन्ध्यामा उनले विभिन्न जिल्लामा भेटघाट, छलफल र संगठन विस्तार अभियानलाई तीव्र बनाएका थिए। पछिल्लो समय काठमाडौंमै रहेर उनले प्रतिनिधिहरूसँग रणनीतिक भेटघाटलाई निरन्तरता दिएका थिए। ती भेटघाटबाट उत्साहजनक समर्थन प्राप्त भएको बताइएको थियो।
त्यही समर्थन महाधिवेशनको मतपरिणाममा देखिएको भन्दै मगर समुदायका अगुवाहरूले यसलाई गण्डकी प्रदेशको साझा जितका रूपमा लिएका छन्।

विजयपछि सिद्धान्त गर्जा मगरले मतदाताप्रति आभार व्यक्त गर्दै भने, “गरिमामय इतिहास बोकेको २२ लाख मगरहरूको साझा संस्था नेपाल मगर संघको १३औँ महाधिवेशनबाट अत्यन्त प्रतिकूल वातावरणका बाबजुद पनि मलाई पवित्र मनबाट उपमहासचिव पदमा भारी मतले विजयी गराउनु हुने सम्पूर्ण प्रिय मतदातामा सर्वोच्च सम्मान तथा नमन व्यक्त गर्दछु।”
सिद्धान्त यसअघि तनहुँ जिल्ला मगर संघका पूर्व अध्यक्ष, गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ का वरिष्ठ उपाध्यक्ष समेत रहिसकेका छन्। उनी लामो समयदेखि मगर समुदायको पहिचान, अधिकार र मगरात स्वायत्तताको सवालमा सक्रिय रहँदै आएका छन्।


उनको विजयसँगै मगर समुदायभित्र नयाँ ऊर्जा थपिएको र संगठनलाई अझ सशक्त रूपमा अघि बढाउने विश्वास गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page