दुई पूर्व कांग्रेस नेताबीच रास्वपाको जिल्ला नेतृत्वमा प्रतिस्पर्धा, अधिवेशनअघि तनहुँको राजनीति तातियो

दुई पूर्व कांग्रेस नेताबीच रास्वपाको जिल्ला नेतृत्वमा प्रतिस्पर्धा, अधिवेशनअघि तनहुँको राजनीति तातियो


तनहुँ — राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको जिल्ला नेतृत्व चयनलाई लिएर चुनावी माहोल तातिएको छ। यही जेठ २४ र २५ गते हुने जिल्ला अधिवेशन नजिकिँदै जाँदा सभापति पदमा कसले बाजी मार्ला भन्ने चासो कार्यकर्ता र समर्थकमाझ बढ्दो छ।
जिल्ला सभापति पदका लागि हालका सभापति विश्व वास्तोला, क्षेत्रीय सभापति विष्णु पन्त र केन्द्रीय विभाग सदस्य विकास सिग्देलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यससँगै पदमराज न्यौपाने र विश्व न्यौपानेको नाम पनि चर्चामा छ। यद्यपि पार्टीभित्रको चर्चा भने मुख्यतः वास्तोला र पन्तको प्रतिस्पर्धामै केन्द्रित देखिन्छ।
विशेष चासोको विषय के बनेको छ भने सभापतिको दौडमा रहेका विश्व वास्तोला र विष्णु पन्त दुवैको राजनीतिक पृष्ठभूमि नेपाली काङ्ग्रेस सँग जोडिएको छ। दुवै जना विगतमा कांग्रेस राजनीतिमा सक्रिय रहेकाले अहिले रास्वपाको नेतृत्वका लागि उनीहरूबीचको प्रतिस्पर्धालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
विष्णु पन्त आबुखैरेनी क्षेत्रमा कांग्रेसको नेतृत्व तहमा सक्रिय थिए। पछि उनले रास्वपामा प्रवेश गरेका हुन् । यता विश्व वास्तोला काङ्ग्रेसको जिल्ला सचिवमा निर्वाचित र मनोनित दुवै रूपमा जिम्मेवारी सम्हालिसकेका नेता हुन्। संगठन विस्तारमा उनको सक्रियता उल्लेखनीय मानिन्छ।
पार्टीभित्र दुवै नेताको स्वर्णिम वाग्ले सँग राम्रो सम्बन्ध रहेको चर्चा पनि चलिरहेको छ। यसले नेतृत्व चयनलाई अझ रोचक बनाएको कार्यकर्ताहरू बताउँछन्। यही कारणले पनि अधिवेशनमा स्वर्णिम वाग्ले जिल्ला नआउन सक्ने पनि अड्कल गरिएको छ ।
जिल्ला अधिवेशनमा तनहुँका १० वटै पालिका समितिबाट प्रतिनिधित्व रहनेछ। प्रत्येक पालिकाबाट २ देखि ५ जना प्रतिनिधि सहभागी हुनेछन् भने केन्द्रीय, प्रदेश र जिल्ला समितिका प्रतिनिधिसहित करिब २५० देखि ३०० जनाको सहभागिता रहने अनुमान गरिएको छ।

अधिवेशन नजिकिँदै जाँदा उम्मेदवारहरूबीच भेटघाट, छलफल र आन्तरिक तयारी तीव्र बनेको छ। जिल्ला नेतृत्व कसको हातमा पुग्ने भन्ने विषय अहिले तनहुँको राजनीतिक वृत्तमा व्यापक चर्चा बनेको छ। नेतृत्वका आकांक्षीहरू सक्रिय बन्दै जाँदा रास्वपाको जिल्ला अधिवेशन यसपटक निकै प्रतिस्पर्धात्मक र चासोपूर्ण हुने देखिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page