गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा तनहुँको दमदार सुरुआत, दुई स्वर्ण पदक हात पार्दै चौथो स्थानमा
दमौली । गण्डकी प्रदेशस्तरीय १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सतर्फ शनिबार पोखरा रंगशालामा सुरु भएको प्रतिस्पर्धामा तनहुँले उत्साहजनक सुरुआत गरेको छ। पहिलो दिनको पदक तालिकामा तनहुँ २ स्वर्ण र १ कांस्यसहित चौथो स्थानमा रहन सफल भएको हो।
तनहुँका खेलाडी अंकित रानाभाटले छात्र ४०० मिटर दौडमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जिते। उनले प्रतिस्पर्धी नवलपुरका आर्यन राना र कास्कीका सन्दीपलाई पछि पार्दै पहिलो स्थान हासिल गरेका हुन्।
यस्तै छात्रातर्फ ४०० मिटर दौडमा तनहुँकी मनकुमारी लामाले पनि स्वर्ण पदक जित्दै जिल्लालाई दोस्रो स्वर्ण दिलाइन्। उनले कास्कीकी आरध्या चालिसे र गोरखाकी आस्मा अधिकारीलाई पछि पार्दै उपाधि जितेकी हुन्।
त्यसैगरी छात्र १५०० मिटर दौडमा तनहुँका कमल विकले कांस्य पदक जितेका छन्। उक्त स्पर्धामा गोरखाका सरोज गिरी पहिलो र कास्कीका सुजन बोहोरा दोस्रो भएका थिए।
पहिलो दिनको खेलपछि नवलपुर ४ स्वर्ण र ४ रजतसहित शीर्ष स्थानमा रहँदा गोरखा दोस्रो तथा कास्की तेस्रो स्थानमा छन्। तनहुँ दुई स्वर्ण र एक कांस्यका साथ चौथो स्थानमा रहेको छ।
यसअघि बाग्लुङमा हुने तय भएको एथलेटिक्स प्रतियोगिता खराब मौसमका कारण पोखरा रंगशालामा सारिएको थियो। गण्डकी प्रदेशका ११ जिल्लाका खेलाडी सहभागी प्रतियोगिताबाट केन्द्रीय १६औं राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनोट गरिने आयोजकले जनाएको छ।

तनहुँका खेलाडीले पहिलो दिनमै देखाएको प्रदर्शनले आगामी प्रतिस्पर्धामा थप पदकको आशा बढाएको छ।




























