बुढानीलकण्ठ उत्सवमा तनहुँ प्रेसका सम्पादक अमरराज नहर्की सम्मानित

बुढानीलकण्ठ उत्सवमा तनहुँ प्रेसका सम्पादक अमरराज नहर्की सम्मानित


तनहुँ, १७ जेठ । विगत दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील तनहुँ प्रेसका सम्पादक एवम् वरिष्ठ पत्रकार अमरराज नहर्की काठमाडौँमा सम्मानित हुनुभएको छ। काठमाडौँको बुढानीलकण्ठ–१२ कपनमा शनिबार आयोजित ‘बृहत् जनचेतनामूलक सांस्कृतिक कार्यक्रम एवं बुढानीलकण्ठ उत्सव २०८३’ को विशेष समारोहमा नहर्कीलाई भव्य सम्मान गरिएको हो।

गोरखापत्र दैनिकका तनहुँ समाचारदाता एवं तनहुँ प्रेस डट कमका सम्पादक समेत रहनुभएका नहर्कीलाई पत्रकारिताको माध्यमबाट नेपाली लोक कला, संस्कृति, साहित्य र मौलिक भजन संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा अमूल्य योगदान पुर्‍याए बापत सम्मान गरिएको हो। हाल काठमाडौँ विश्वविद्यालयमा आम सञ्चार र पत्रकारिता विषयमा विद्यावारिधि (पिएचडी) मा अध्ययनरत नहर्की मोफसलको पत्रकारिता र प्राज्ञिक क्षेत्रमा स्थापित नाम हो।

बुढानीलकण्ठ नगरपालिकाको संरक्षकत्व तथा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल लगायतका संस्थाहरूको सहयोगमा स्वीकृति इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको सो कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, वडा नम्बर १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई र कार्यक्रम संयोजक एवं लोकदोहोरी गायक नवीन पौडेलले संयुक्त रूपमा उहाँलाई सम्मान–पत्र प्रदान गर्नुभयो।

सो अवसरमा नगर प्रमुख अधिकारीले समाजलाई सचेत गराउन, विकृति विरुद्ध लड्न र मौलिक संस्कृतिको जगेर्ना गर्न यस्ता उत्सव एवं पत्रकारिता क्षेत्रले ठूलो मद्दत पुर्‍याउने बताउनुभयो।

समारोहमा सम्मानित व्यक्तित्व पत्रकार नहर्कीले मोफसलमा रहेर गरिने पत्रकारिता आफैँमा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यस्ता राष्ट्रिय स्तरका सम्मानले कार्यक्षेत्रमा थप जिम्मेवार भएर लाग्न ऊर्जा र प्रेरणा मिल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “नेपाली मौलिक कला, भजन संस्कृति र साहित्य हाम्रो देशको विशिष्ट पहिचान हो, यसको जगेर्ना र प्रवर्द्धनका लागि मिडिया क्षेत्रबाट सधैँ निरन्तर खबरदारी र वकालत भइरहनेछ।”

सम्मानित पत्रकार नहर्कीले यसअघि पनि राष्ट्रिय तथा क्षेत्रीय स्तरका थुप्रै गरिमामय पुरस्कारहरू प्राप्त गरिसक्नुभएको छ। उहाँ नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय (शिक्षा विभाग) द्वारा संयुक्त रूपमा प्रदान गरिने ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ तथा ‘शिक्षा लेखनवृत्ति पुरस्कार–२०७०’ बाट पुरस्कृत व्यक्तित्व हुनुहुन्छ। यसका साथै उहाँले तरुण पत्रकारिता पुरस्कार, व्यास विकास पत्रकारिता पुरस्कार, एपिक मोफसल पत्रकारिता पुरस्कार, र जयप्राप्ति मोफसल पत्रकारिता पुरस्कार लगायतका थुप्रै मान–सम्मान र पदकहरू प्राप्त गरिसक्नुभएको छ। नहर्की नेपाल प्रेस युनियन तनहुँका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ।

‘जोगाऔँ सम्पदा, संस्कृति र सभ्यता’ भन्ने मूल नाराका साथ त्रि–ज्योति माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त महोत्सवमा संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय (बागमती प्रदेश) र पर्यटन कार्यालय काठमाडौँको समेत सहयोग रहेको थियो।

महोत्सवमा चर्चित गायक तथा गायिकाहरु खुमन अधिकारी, सुस्मिता जी विश्व, नारायण खनाल, नवीन पौडेल, गीता भट्टराई, आशा लामा (ज्ञानमाला), संजय खड्का, राधिका ढकाल, फुटी शेर्पा, श्रीदेवी देवकोटा, सुमित्रा कोइराला, कविता खत्री, पुनम बस्याल, भीमसेन खतिवडा, पवित्रा रम्तेल, सुमन थापा, उमा बिडारी, सपना सुनाम, निशा खड्का, मुकुन्द घिमिरे र देवी हमाल लगायतले विशेष प्रस्तुति दिनुभएको थियो।

त्यसैगरी नृत्यङ्गना स्वीकृति पौडेल, मोडल/कलाकारहरू ममता श्रेष्ठ, चन्द्रमणी गौतम, रोजी कुमाल (चरी), सुशिला बिष्ट, शितल शर्मा, सरस्वती शर्मा, निश्चल सिलवाल, सुष्मा लामा गौतम, रेखा लामा, स्यान्ड्रु केसी, जिता खड्का थापा, अमृत थापा तथा जादुगर राजेन्द्र गिरी र सिन्धुली कलाघरका कलाकारहरूले आ–आफ्नो कला प्रस्तुत गरेका थिए। सो अवसरमा लागू औषध दुर्व्यसन, सामाजिक सञ्जालको दुरुपयोग, महिला हिंसा, लैङ्गिक हिंसा र सुर्तीजन्य पदार्थ नियन्त्रण जस्ता सामाजिक विषयमा सचेतनामूलक नाटक समेत प्रदर्शन गरिएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page