रास्वपा तनहुँमा नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा, अधिवेशनअघि बढ्यो राजनीतिक सरगर्मी

रास्वपा तनहुँमा नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा, अधिवेशनअघि बढ्यो राजनीतिक सरगर्मी

दमौली, जेठ २२ — राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको प्रथम जिल्ला अधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनलाई लिएर पार्टीभित्र असाधारण चहलपहल देखिएको छ। आज उम्मेदवारी दर्ता, भोलि दाबी–विरोध, फिर्ता तथा अन्तिम नामावली प्रकाशन हुने कार्यतालिकाबीच जिल्ला नेतृत्वका आकांक्षीहरू सक्रिय भएका छन्।
जिल्ला सभापति पदका लागि डा. शेषरमण न्यौपाने, विष्णु पन्त र विश्व वास्तोला बीच कडा प्रतिस्पर्धा हुने चर्चा छ। अन्तिम समयमा सहमति जुटाउने प्रयास भए पनि हालसम्मको अवस्था हेर्दा चुनावी प्रतिस्पर्धा टार्न कठिन देखिएको स्रोतहरू बताउँछन्।
उपसभापति पदमा पदमराज न्यौपाने, सुन्दर बस्याल र किसान प्रधान को नाम चर्चामा छ। क्षेत्रीय तथा भौगोलिक सन्तुलन मिलाउने समीकरणले अन्तिम घडीमा उम्मेदवारको भूमिकासमेत परिवर्तन हुन सक्ने आँकलन गरिएको छ। उपसभापतिमा सहमति नभए सुन्दर बस्याल सचिव पदतर्फ जाने र आवश्यक परे पदमराज न्यौपाने सचिवमा दोहोरिने सम्भावनाबारे पनि पार्टी वृत्तमा चर्चा चलिरहेको छ।
सचिव पदमा अनिल श्रेष्ठ बलियो दाबेदारका रूपमा हेरिएका छन्। यद्यपि भोलिको उम्मेदवारी फिर्ता प्रक्रियाले समीकरण बदल्न सक्ने नेताहरूको भनाइ छ।
कोषाध्यक्ष पद मनोनित हुने व्यवस्था रहेकाले महिला नेतृत्वको चर्चा पनि चुलिएको छ। उक्त पदका लागि अन्जु दाहाल को नाम अग्रपंक्तिमा रहेको चर्चा छ। कार्यसमितिमा अनिवार्य महिला सहभागिताअन्तर्गत शशी रूपाखेती, अन्जु दाहाल, बसुन्धरा घर्ती लगायतका नाम चर्चामा छन्।
पार्टीभित्र अहिले सबैभन्दा ठूलो प्रश्न एउटै छ— नेतृत्व सहमतिमा टुंगिन्छ कि मतदानमै पुग्छ? आज उम्मेदवारी दर्तापछि सुरु हुने शक्ति परीक्षणले रास्वपा तनहुँको पहिलो अधिवेशनलाई थप रोचक बनाएको छ। जेठ २४ गते हुने अधिवेशनले जिल्लामा पार्टीको आगामी नेतृत्व मात्र होइन, आगामी राजनीतिक दिशा पनि तय गर्ने अपेक्षा गरिएको छ।

“अन्तिम घडीसम्म समीकरण फेरिन सक्छ, तर अहिले तनहुँ रास्वपामा नेतृत्वको दौड निकै रोचक बनेको छ,” एक नेताले बताए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page