रास्वपा तनहुँको प्रथम जिल्ला अधिवेशन आज : सभापतिमा जुटेन सहमति, निर्वाचन हुने
दमौली, जेठ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको प्रथम जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। उम्मेदवारी दर्तापछि विभिन्न पदमा प्रतिस्पर्धा देखिए पनि अन्तिम समयमा केही पदमा सहमति जुटेसँगै चुनावी समीकरण फेरिएको छ।
सचिव पदका प्रत्याशी दीपक ढकाल र अनिल श्रेष्ठमध्ये ढकालले उम्मेदवारी फिर्ता लिएपछि अनिल श्रेष्ठ सर्वसम्मत रूपमा सचिव चयन भएका छन्। त्यसैगरी उपसभापति पदका उम्मेदवार किसान प्रधानले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उक्त पदमा विष्णु पन्त र पदमराज न्यौपानेबीच प्रतिस्पर्धा हुने भएको छ।
यद्यपि सभापति पदमा भने सहमति जुट्न नसकेको र डा. शेषरमण न्यौपाने तथा विश्व वास्तोलाबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने निश्चित भएको छ। सहसचिव पदमा पदम सुनार, सागर अधिकारी क्षेत्री र दुर्गाकुमार श्रेष्ठबीच पनि चुनाव हुने भएको छ।
अधिवेशनअन्तर्गत सदस्य पदका लागि १३ जनाको उम्मेदवारी कायम रहेको छ। शुन्दर बस्याल, हरिकुमार श्रेष्ठ, भरतकुमार श्रेष्ठ, केशबहादुर थापा, सीता विक, महमद सतार मियाँ, अम्बिका वाग्ले, सीता अधिकारी, अञ्जु दाहाल, सशी रूपाखेती, सुनिता परियार, चिरञ्जीवी सापकोटा र कृष्ण “बासु” पन्त सदस्य पदका उम्मेदवार छन्। तीमध्ये आवश्यक संख्यामा प्रतिनिधिहरूले मतदानमार्फत सदस्य चयन गर्नेछन्।
अधिवेशनअघि विभिन्न चरणमा सहमतिको प्रयास भए पनि सभापति, उपसभापति र सहसचिव पदमा सहमति हुन नसकेपछि निर्वाचन प्रक्रियामा जाने निश्चित भएको हो।

आज हुने मतदानबाट रास्वपा तनहुँको नयाँ जिल्ला नेतृत्व चयन हुनेछ। नवगठित नेतृत्वले जिल्लामा पार्टी संगठन विस्तार, सदस्यता अभियान सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। अधिवेशनका कारण पार्टीभित्र उत्साह र चुनावी माहोल समेत उच्च बनेको छ। अधिवेशनमा पर्यटनमन्त्री मुख्य अतिथि रहने छन् ।





























