माझफाँटमा सम्पन्न पुरुषोत्तम महायज्ञमा ४५ लाख नगद र ८ आना जग्गा दान संकलन

दमौली, जेठ ३१ – व्यास नगरपालिका–९ माझफाँटस्थित शिवालय (माहेन्द्रेश्वर महादेव) मन्दिरमा सञ्चालन भएको श्रीमद् पुरुषोत्तम महायज्ञ आइतबार भव्य रूपमा सम्पन्न भएको छ। मन्दिर संरक्षण, धार्मिक पर्यटन प्रवर्द्धन तथा पञ्चमन्दिर निर्माणका लागि आवश्यक स्रोत जुटाउने उद्देश्यले आयोजित महायज्ञमा कुल ४५ लाख रुपैयाँ नगद तथा ८ आना जग्गा दान संकलन भएको आयोजकले जनाएको छ।
जेठ २४ गतेदेखि सञ्चालन भएको महायज्ञ अवधिभर कथा श्रवण, धार्मिक अनुष्ठान तथा विविध धार्मिक कार्यक्रमका कारण माझफाँट क्षेत्र भक्तिमय बनेको थियो। अन्तिम दिनसमेत श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विभिन्न व्यक्ति, परिवार, आमा समूह तथा संघसंस्थाबाट प्राप्त आर्थिक तथा भौतिक सहयोगले महायज्ञ ऐतिहासिक रूपमा सफल भएको आयोजक समितिले जनाएको छ।
महायज्ञका आर्थिक संयोजक नारायणप्रसाद न्यौपानेका अनुसार अन्तिम दिनसम्म आइपुग्दा ४५ लाख रुपैयाँभन्दा बढी नगद तथा ८ आना जग्गा दान प्राप्त भएको छ। प्राप्त सहयोग मन्दिर संरक्षण, धार्मिक पूर्वाधार विकास तथा प्रस्तावित पञ्चमन्दिर निर्माणमा खर्च गरिने उनले बताए।
समापन समारोहका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रवक्ता तथा वडा नं. ९ का अध्यक्ष सुरेश थापाले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको प्रवर्द्धनमा यस्ता महायज्ञको महत्वपूर्ण भूमिका रहने बताए। उनले माझफाँटमा सम्पन्न महायज्ञले धार्मिक आस्थासँगै सामाजिक सद्भाव र समुदायबीचको सहकार्यलाई समेत मजबुत बनाएको उल्लेख गर्दै मन्दिरको संरक्षण र विकासका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
महायज्ञमा दैनिक कथा वाचन गरेका १८ पुराणका सरस प्रवक्ता बालव्यास नारायण न्यौपानेले धर्म, संस्कार र मानवीय सेवाको भावना अभिवृद्धि गर्न यस्ता धार्मिक महायज्ञ प्रभावकारी माध्यम बन्ने बताए। उनले भक्तजनहरूको उत्साहजनक सहभागिता र सहयोगले धार्मिक अभियानलाई थप ऊर्जा प्रदान गरेको उल्लेख गर्दै धार्मिक कार्यमा निरन्तर जुटिरहन आग्रह गरे।
माहेन्द्रेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष बामदेव न्यौपानेले भक्तजनहरूको अपार सहयोगका कारण महायज्ञ अपेक्षाभन्दा बढी सफल भएको बताए। प्राप्त सहयोगलाई पूर्ण पारदर्शिताका साथ मन्दिर विकास तथा धार्मिक पूर्वाधार निर्माणमा उपयोग गरिने उनको भनाइ थियो।
महायज्ञ सफल बनाउन स्थानीयवासी, युवा, आमा समूह तथा विभिन्न संघसंस्थाले सक्रिय भूमिका निर्वाह गरेको व्यास–९ का वडा सदस्य सन्तोष जिसीले बताए। समितिका सदस्य भोटबहादुर थापाका अनुसार महायज्ञले धार्मिक चेतना अभिवृद्धिसँगै मन्दिर विकासका लागि आवश्यक आर्थिक स्रोत जुटाउन महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

समिति अध्यक्ष बामदेव न्यौपानेको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा विभिन्न दाता, सहयोगी, समाजसेवी तथा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजक समिति सचिव दिलिप गुरूङले महायज्ञ सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण दाता, सहयोगी, स्वयंसेवक तथा श्रद्धालु भक्तजनप्रति आभार व्यक्त गरेका छन् ।






























