एसपी कार्कीको सक्रियता : तनहुँमा स्विप अपरेसन प्रभावकारी, शान्ति सुरक्षामा कडाइ

एसपी कार्कीको सक्रियता : तनहुँमा स्विप अपरेसन प्रभावकारी, शान्ति सुरक्षामा कडाइ


दमौली, असार १ — जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकबहादुर कार्कीको नेतृत्वमा जिल्लामा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणका लागि सञ्चालन गरिएको सर्च एण्ड स्विप अपरेसन प्रभावकारी बन्दै गएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइबाट नियमित रूपमा सञ्चालन हुँदै आएको विशेष स्विप अपरेसन अन्तर्गत गत साता विभिन्न स्थानबाट ७६ जनालाई नियन्त्रणमा लिई आवश्यक सम्झाइबुझाइपछि छाडिएको थियो।
यस्तै, आइतबार (जेठ ३१ गते) लागुऔषध नियन्त्रण, अवैध मदिरा कारोबार, शान्ति सुरक्षा, फरार अभियुक्त पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत–साधनको अनधिकृत दोहन रोक्न सञ्चालन गरिएको सर्च एण्ड स्विप अपरेसनका क्रममा ११ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। तीमध्ये २ जनामाथि थप अनुसन्धान भइरहेको छ भने अन्यलाई आवश्यक सोधपुछ र सम्झाइबुझाइ गरिएको छ।
एसपी कार्की तनहुँमा आएपछि अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, लागुऔषध विरुद्धको अभियान तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन्। नियमित निगरानी, रात्री गस्ती तथा स्विप अपरेसनका कारण जिल्लाको शान्ति सुरक्षा अवस्था थप सुदृढ बन्दै गएको स्थानीयवासीको भनाइ छ।


प्रहरीले आगामी दिनमा पनि यस्ता अभियानलाई अझ प्रभावकारी बनाउँदै अपराध न्यूनीकरण र सुरक्षित समाज निर्माणका लागि निरन्तर सक्रिय रहने जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page