बिहानीमै चालक सचेतना कार्यक्रम, २९८ सवारी चालकलाई ट्राफिक सचेतना
तनहुँ, असार ५ । बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले आज बिहान ४ बजेदेखि पोखरा–मुग्लिङ सडकखण्डमा संयुक्त रूपमा चालक सचेतना कार्यक्रम सञ्चालन गरेका छन्।
कार्यक्रमअन्तर्गत चालकहरूलाई सडकको अवस्था, लेन अनुशासन, ट्राफिक नियमको पालना तथा सुरक्षित यात्रासम्बन्धी जानकारी प्रदान गर्दै सम्झाइबुझाइ गरिएको थियो।
सचेतना कार्यक्रममा ९८ वटा दुईपाङ्ग्रे, ७० वटा चारपाङ्ग्रे साना सवारी तथा १३० वटा ठूला सवारी साधनका चालक गरी कुल २९८ जना चालकलाई ट्राफिक सचेतना प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।




























