व्यास–२ मा महिलाका लागि नेतृत्व विकास तथा डिजिटल साक्षरता तालिम सम्पन्न

तनहुँ, असार ८ । व्यास नगरपालिका–२ अन्तर्गतका विभिन्न टोल विकास संस्थामा आबद्ध महिलाहरूका लागि सञ्चालन गरिएको दुईदिने नेतृत्व विकास, भाषणकला, क्षमता अभिवृद्धि तथा डिजिटल साक्षरतासम्बन्धी तालिम सोमबार सम्पन्न भएको छ।
परिवर्तनका लागि मिडियाको आयोजनामा सम्पन्न तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा वडा सदस्य रफत साना मियाँ प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता वडा सदस्य सबिता रसाइलीले गर्नुभएको थियो।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मियाँले महिलाहरूको नेतृत्व क्षमता विकास र डिजिटल ज्ञान अभिवृद्धिका लागि यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो। अध्यक्ष रसाइलीले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रममा बागबजार टोल विकास संस्थाका अध्यक्ष सुमन श्रेष्ठ तथा सहभागीहरूको तर्फबाट राधिका पाेख्रेलले मन्तव्य व्यक्त गर्दै तालिमले नेतृत्व विकास, सार्वजनिक बोलाइ तथा डिजिटल प्रविधिको सुरक्षित प्रयोगबारे महत्वपूर्ण ज्ञान प्राप्त भएको बताएका थिए।
तालिमको दोस्रो दिन जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) द्वारिका घिमिरेले साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगीबाट बच्ने उपाय तथा डिजिटल सुरक्षासम्बन्धी प्रशिक्षण दिनुभएको थियो।
तालिममा मोबाइल फोनको प्रभावकारी प्रयोग, अनलाइन सेवाको उपयोग, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, नेतृत्व विकास, भाषणकला तथा क्षमता अभिवृद्धिसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिमका मुख्य प्रशिक्षक पूर्ण विके रहनुभएको थियो।

समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। महिलाहरूको उल्लेख्य सहभागिता रहेको उक्त तालिमले स्थानीय महिलाहरूको नेतृत्व क्षमता र डिजिटल सचेतना अभिवृद्धिमा टेवा पुर्याएको मुख्य प्रशिक्षक पुर्ण वि के ले बताए । उक्त कार्यक्रमकाे सहजीकरण पत्रकार बिकास खनालले गरेका थिए ।



























