नेपाल मगर संघका उप-महासचिव थापाद्वारा १० बुँदे प्रतिबद्धता सार्वजनिक
काठमाडौं । नेपाल मगर संघ केन्द्रीय समितिका नवनिर्वाचित उप-महासचिव सिद्धबहादुर थापा (सिद्धान्त) ले आफ्नो कार्यकालका लागि १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्।
नेपाल मगर संघको १३औँ राष्ट्रिय महाधिवेशनबाट उप-महासचिवमा निर्वाचित भएपछि थापाले मगरात सभ्यता सहितको समृद्ध मगर समाज निर्माणलाई केन्द्रमा राख्दै दीर्घकालीन गुरुयोजना कार्यान्वयनमा सक्रिय रहने प्रतिबद्धता जनाएका हुन्।
उनले मगर समाजको इतिहास, संस्कृति, भाषा, लिपि तथा पहिचान संरक्षण र प्रवर्द्धनमा निरन्तर लागिरहने, संगठन सुदृढीकरण गर्दै ‘जहाँ मगर, त्यहाँ नेपाल मगर संघ’ अभियानलाई प्रभावकारी बनाउने तथा आदिवासी जनजातिको अधिकार, समावेशी प्रतिनिधित्व र सांस्कृतिक अस्तित्वका विषयमा नीतिगत बहसमा सक्रिय भूमिका निर्वाह गर्ने उल्लेख गरेका छन्।
थापाले नेपालको प्रथम सहिद लखन सांस्कृतिक संग्रहालय निर्माण कार्यमा सहयोग गर्ने, मगर भाषा र लिपिलाई सरकारी कामकाजमा कार्यान्वयनका लागि पहल गर्ने तथा नेतृत्व विकास र समुदायको चेतना अभिवृद्धिमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै, मगर समुदायलाई संगठित, सचेत, संघर्षशील र समृद्ध बनाउन योगदान पुर्याएका अग्रजहरूप्रति सम्मान व्यक्त गर्दै आगामी १४औँ महाधिवेशन प्यानल र राजनीतिक प्रभावरहित, स्वच्छ प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न हुनुपर्ने धारणा पनि राखेका छन्।

नेपाल मगर संघको १३औँ राष्ट्रिय महाधिवेशन २०८३ जेठ ८, ९ र १० गते काठमाडौंमा सम्पन्न भएको थियो। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै ६५ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो ।



























