तनहुँमा व्यास नगरपालिकाको बजेट सबैभन्दा ठूलो, १ अर्ब ५० करोडभन्दा बढीको आय–व्यय प्रस्तुत

तनहुँमा व्यास नगरपालिकाको बजेट सबैभन्दा ठूलो, १ अर्ब ५० करोडभन्दा बढीको आय–व्यय प्रस्तुत


तनहुँका स्थानीय तहमध्ये व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सबैभन्दा ठूलो बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको ४५औँ नगरसभामा १ अर्ब ५० करोड २० लाख १ हजार रुपैयाँको अनुमानित आय–व्यय प्रस्तुत गरिएको हो।
नगर उपप्रमुख इन्दिरा दरैले प्रस्तुत गरेको बजेटअनुसार कुल बजेटमध्ये १ अर्ब २ करोड ३७ लाख ६२ हजार रुपैयाँ अर्थात् ६८.१६ प्रतिशत चालु खर्चतर्फ विनियोजन गरिएको छ भने ४७ करोड ८२ लाख ३९ हजार रुपैयाँ अर्थात् ३१.८४ प्रतिशत पुँजीगत खर्चका लागि छुट्याइएको छ।
यसअघि नगरसभाको पहिलो सत्रमा नगर प्रमुख वैकुण्ठ न्यौपानेले आगामी आर्थिक वर्षका लागि ३१३ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रममाथि नगरसभा सदस्य गौकुमारी न्यौपाने, रन सिंह नेपाली, यज्ञ शर्मा, जीवन गुरुङ र राधा विकलगायतले सुझाव तथा धारणा राखेका थिए।
नगरपालिकाले पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग प्रवर्द्धन, व्यवस्थित बसोबास तथा भूमि व्यवस्थापन, वन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, युवा तथा खेलकुद, सूचना तथा सञ्चार, आदिवासी जनजाति तथा दलित समुदायको उत्थान, अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण, ज्येष्ठ नागरिक कल्याण, सुरक्षित वैदेशिक रोजगारी, सुशासन तथा दक्ष जनशक्ति विकासलाई प्राथमिकताका क्षेत्रका रूपमा समेटेको जनाएको छ।


नगरसभाको अर्को बैठक असार २७ गते बस्ने तय भएको नगरपालिकाले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page