मुक्तिनाथ–च्यवनधाममा शिव महिमा बोलबम धार्मिक महोत्सवको तयारी तीव्र, २५ उपसमिति गठन
तनहुँ, साउन २ — शुक्लागण्डकी नगरपालिका–३ गाछेपानीस्थित श्री मुक्तिनाथ–च्यवनधाममा आगामी भदौ १ देखि ८ गतेसम्म सञ्चालन हुने शिव महिमा बोलबम धार्मिक महोत्सव–२०८३ को तयारी तीव्र पारिएको छ।
शनिबार सम्पन्न तयारी भेलाले ठाकुरप्रसाद शास्त्रीको संयोजकत्वमा मूल समारोह समिति तथा महोत्सवलाई व्यवस्थित बनाउन २५ उपसमिति गठन गरेको छ। मूल समारोह समितिको उपसंयोजकमा होमनाथ लम्साल र पार्वती पौडेल चयन भएका छन्।
महोत्सवमा विदुषी आचल बस्सेलबाट दैनिक धार्मिक प्रवचन हुनेछ। साथै बोलबम यात्रा, कलश यात्रा, शिवपूजन, रुद्राभिषेक, भजन–कीर्तन, झाँकी प्रदर्शन, तुलादान तथा विविध धार्मिक एवं सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

धार्मिक पर्यटन प्रवर्द्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि तथा सामाजिक सद्भाव सुदृढ गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा स्थानीय समुदाय, जनप्रतिनिधि, आमा समूह, युवा क्लब तथा विभिन्न संघ–संस्थाको सक्रिय सहभागिता रहने बताइएको छ।


























