एनआरएनए आईसीसीको सल्लाहकारमा चिरञ्जीवी घिमिरे मनोनीत
क्यानडा, साउन २ गते ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का पूर्वसचिव तथा एनआरएनए क्यानडाका पूर्वअध्यक्ष चिरञ्जीवी घिमिरे आईसीसीको सल्लाहकारमा मनोनीत हुनुभएको छ।

लामो समयदेखि गैरआवासीय नेपाली समुदायको हित, संस्थागत विकास तथा सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएका घिमिरेको नेतृत्व, समर्पण र संस्थाप्रतिको निरन्तर योगदानलाई मूल्याङ्कन गर्दै उहाँलाई उक्त जिम्मेवारी प्रदान गरिएको जनाइएको छ। उहाँको अनुभवले एनआरएनएलाई अझ सुदृढ, प्रभावकारी र एकताबद्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
एनआरएनएमा विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसक्नुभएका घिमिरेले क्यानडामा पनि नेपाली समुदायका सामाजिक, सांस्कृतिक तथा सामुदायिक संस्थासँग सहकार्य गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ। नेपाली समुदायलाई एकताबद्ध बनाउने, नयाँ पुस्तालाई समुदायसँग जोड्ने तथा सामाजिक सेवामार्फत समुदायको हितमा योगदान पु¥याउँदै आउनुभएको भन्दै उहाँको कार्यको क्यानडास्थित नेपाली समुदायले उच्च मूल्याङ्कन गर्दै आएको छ।
घिमिरे क्यानडाको मूलधारको राजनीतिमा पनि सक्रिय रहँदै आउनुभएको छ। उहाँ लिबरल पार्टीसँग आबद्ध रही सामुदायिक सहभागिता र नेतृत्वमार्फत आफ्नो उपस्थिति स्थापित गर्दै आउनुभएको जनाइएको छ। यसले नेपाली मूलका समुदायको क्यानडाको राजनीतिक तथा सामाजिक क्षेत्रमा बढ्दो सहभागितालाई समेत प्रतिबिम्बित गरेको बताइएको छ।
विश्वभर रहेका गैरआवासीय नेपालीलाई एकताबद्ध गर्दै मातृभूमि नेपालको समृद्धि र विकासमा समेत उहाँको अनुभव, नेतृत्व र अन्तर्राष्ट्रिय सञ्जाल उपयोगी हुने अपेक्षा गरिएको छ। आईसीसीको सल्लाहकारमा उहाँको मनोनयनले गैरआवासीय नेपाली समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास व्यक्त गरिएको छ।
























