पोखरा–मुग्लिङ सडकमा चालक सचेतना अभियान निरन्तर, १२० चालकलाई ट्राफिक नियमबारे जानकारी

पोखरा–मुग्लिङ सडकमा चालक सचेतना अभियान निरन्तर, १२० चालकलाई ट्राफिक नियमबारे जानकारी


साम्राज्ञी पाण्डे ,

तनहुँ, साउन ७। वर्षायाममा सडक दुर्घटनाको जोखिम बढ्दै जाने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले मुग्लिङ–पोखरा सडकखण्डमा चालक सचेतना कार्यक्रमलाई निरन्तर सञ्चालन गरिरहेका छन्। सुरक्षित यात्राको संस्कृतिलाई प्रवर्द्धन गर्दै सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ आज पनि बिहान ४:०० बजेदेखि ७:०० बजेसम्म संयुक्त रूपमा सचेतनामूलक अभियान सञ्चालन गरिएको हो।

अभियानका क्रममा उक्त सडकखण्ड हुँदै आवतजावत गर्ने सवारी साधनका चालकलाई सडकको वर्तमान अवस्था, वर्षायाममा देखिने जोखिम, लेन अनुशासन, सुरक्षित गति, ट्राफिक नियमको पालना तथा जिम्मेवार ढंगले सवारी सञ्चालन गर्नुपर्ने विषयमा जानकारी दिइएको थियो। बिहानको समयमा लामो दूरीका सार्वजनिक तथा मालवाहक सवारीको चाप बढी हुने भएकाले सोही समयलाई लक्षित गरी चालकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै सचेतना प्रदान गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षायाममा सडक चिप्लो हुने, पहिरो र ढुंगा खस्ने, हुस्सुका कारण दृश्यता कम हुने तथा आकस्मिक अवरोध आउन सक्ने भएकाले विशेष सतर्कता अपनाउन चालकलाई आग्रह गरेको छ। ओभरस्पिड नगर्न, जथाभावी ओभरटेक नगर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, सिटबेल्ट र हेल्मेटको अनिवार्य प्रयोग गर्न तथा सवारी साधनको प्राविधिक अवस्था जाँच गरेर मात्रै यात्रा सुरु गर्न पनि सुझाव दिइएको थियो।

आजको अभियानमा २४ वटा दुईपाङ्ग्रे, ३७ वटा चारपाङ्ग्रे साना सवारी तथा ५९ वटा ठूला सवारी साधनका चालक गरी कुल १२० जना चालकलाई ट्राफिक नियम, सुरक्षित यात्रा र जिम्मेवार सवारी सञ्चालन सम्बन्धी सचेतना प्रदान गरिएको छ। चालकसँग प्रत्यक्ष संवाद गर्दै सडक सुरक्षाका आधारभूत विषयहरूबारे जानकारी दिइएको र आवश्यक सुझावसमेत प्रदान गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी एवं सूचना अधिकारी द्वारिका प्रसाद घिमिरेका अनुसार दुर्घटना न्यूनीकरणका लागि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गरिएको हो। उहाँले चालकको सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले ट्राफिक नियमको पूर्ण पालना गर्न, मौसम र सडकको अवस्थाअनुसार सावधानीपूर्वक सवारी चलाउन तथा लेन अनुशासनको कडाइका साथ पालना गर्न सबै चालकसँग आग्रह गर्नुभयो।

प्रहरीका अनुसार सडक सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता अभियानलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइनेछ। दुर्घटना न्यूनीकरणका लागि प्रहरीको प्रयाससँगै चालक, यात्रु र सर्वसाधारणको सचेत सहभागिता आवश्यक रहेको जनाइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page