राष्ट्रपति पौडेलद्धारा समवेदना व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले मातृ शोकमा रहुन भएका तनहुँका समाजसेवी दाजुभाईहरु डा.रामचन्द्र पाण्डे र कृष्णचन्द्र पाण्डेको परिवारलाई समवेदना दिनु भएको छ ।


उहाँहरुको आमा विष्णुमाया पाण्डेको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताउँदै उहाँले टेलिफोन गरेर शनिबार समवेदना प्रकट गर्नु भएको हो । दुःखको यस घडीमा दाजुभाई सहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गर्नु भएको राष्ट्रपतिका निजी सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिनुभयो । उहाँको जेठो छोरा डा. रामचन्द्र राष्ट्रिय परिक्षा बोर्ड अनुसन्धान गुणस्तर तथा शासकीय सुधार महाशाखाका पूर्व प्रमुख, मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालका पूर्व कार्यकारी निर्देशक तथा काठमाडौं शिक्षा क्याम्पसका पूर्व अङ्ग्रेजी विभागका प्रमुख हुनुहुन्छ ।


उहाँको कान्छो छोरा कृष्णचन्द्र लामो समय देखि नेपाल रेडक्रस सोसाईटीमा आबद्ध भई समाजसेवामा लाग्नु भएको छ । उहाँ नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशको उपमहासचिव हुनुुहुन्छ । त्यस्तै नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँको अध्यक्ष हुनुहुन्छ । उहाँको माताको वैशाख २० गते व्यास नगरपालिका–२ गणेशमानचोक, दमौली स्थित आफ्नै निवासमा ८१ वर्षको उमेरमा निधन भएको थियो ।



























