मातातीर्थ औँसीमा छोराछोरी भेट्न नआउँदा आमाहरुकाे आँखामा आशु
अमर राज नहर्की

मातातिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिनमा समेत छोराछोरी भेट्न नआउँदा यहाँका आश्रममा रहेका आमाहरुका आँखामा आँशु आएको छ ।


सन्तानको माया नपाएर आश्रममा बस्न बाध्य आमाहरु आज सन्तान भेट्न आउँछन् कि भनेर बाटो हेरेर बसे पनि नआएपछि आँखाभरी आँशु निकाल्न बाध्य भएका हुन् । व्यास नगरपालिका–५ चापाघाट स्थित वेदव्यास जेष्ठ नागरिक आश्रममा आश्रित ७० वर्षिया बिमला भट्टराईले आँखाभरि आँशु लिँदै पर्वले खुसी नदिई पिडा दिने गरेको बताउनुभयो । बुधबार परेको औंसीका अवसरमा छोरा र छोरी भेट्न आउँछन् कि भनेर बाटो हेरेकाे तर नआउँदा पिडा भएको उहाँले बताउनुभयो । भट्टराईले आँशु पुछ्दै भन्नुभयो, ‘मैले छोराछोरीलाई दिनहुँ सम्झिएको छु तर उनिहरुले एक पटक पनि सम्झिएनन् ।’ भेट नभएको धेरै वर्ष भएकाले याद आइरहेको उहाँ बताउनुहुन्छ । छोरो गाउँमै र छोरी भारतमा काम गरेर बस्ने गरेका उहाँले जानकारी दिनुभयो ।

छोराछोरी आउँछन कि भन्ने आशमा भट्टराई बाटोतिर हेर्दै बस्नु भएको थियो । चाडपर्वको समयमा भेट्न आए पनि आफ्नो अत्यार मेटिने उहाँले बताउनुभयो । चाडपर्वमा छोराछोरी र घरपरिवारको याद आइरहने भट्टराई बताउनुहुन्छ ।

यस्तै पिडा अन्य आमाहरुको पनि रहेको छ । आफ्नो ज्यान आफैंलाई भारी भएर घुँडाले बूढो शरीर धान्न नसकेर लौरो टेकेर हिड्नु परेको बेला घर, परिवार, छोराछोरी र आफन्तजनको सहारा हरेक वृद्धवृद्धाले खोज्छन् तर साहार नपाएपछि आश्रममा उहाँहरु बस्नु भएको छ । व्यास नगरपालिका–६ साँगे सिरुवारीकी उमेरले ७० काटिसक्नु भएकी ठुली परियार आफ्ना छोराछोरी नभएको तर दिदीबिहीका छोराछोरीले नसम्झिएको बताउनुभयो ।

आजको दिन मनका कुरा भन्ने, मिठो खाने, छोराछोरीले दिएको लुगाफाटो लगाउने त इच्छा छ नि तर के गर्नु भाग्यले जुराएको रहेनछ ।’ श्रीमान बितेपछि बूढीलाई हामी पाल्न सक्दैनौँ भनेर देवर तथा जेठाजुका छोराछोरीले भनेपछि आश्रममा आएको परियार बताउनुहुन्छ । आफ्नो सन्तान नहुँदा दुःख पाएको बताउँदै आफ्नो भाग्यमा नभएपछि चाडपर्व खल्लो हुने परियाले बताउनुभयो । परियारले भन्नुभयो, ‘आफ्नो कोख बाँझै रह्यो मातातीर्थ औँशी मेरा लागि कहिल्यै आउँदैन, सन्तान हुनेले त आश्रममा बस्नुपरेको छ मेरो त झन कोही छैन ।’ आश्रमकी कार्यवाहक अध्यक्ष सकुन्तला आलेले चाडपर्व बेलामा समेत सन्तानले नसम्झिँदा उनिहरुको सम्झनामा निकै नरमाइलो महसुस गर्ने गरेको बताउनुभयो । हामीले उहाँलाई सन्तानको अभाव महशुस नहोस् भन्नको लागि चाडपर्वको बेला सँगै बसेर खाने, खुवाउने, कुरा गर्ने गरेको उहाँले बताउनुभयो । आलेले भन्नुभयो, पर्वका बेला दाताले फलफूल र मीठा मीठा खाना बोकेर आउने भए पनि आमाहरुले छोराछोरीको सम्झनामा मुख निन्याउरो पार्नुहुन्छ, आँखाबाट आँशु झार्नुहुन्छ ।’ कतिपयको सन्तान भएर पनि बेवास्ता गरेको र कतिपयका आफ्ना सन्तान नभएकोले आश्रममा आएको आश्रमले जनाएको छ ।

आमाको मुख हेर्ने दिन सन्तान भेट्न नआउँदा उहाँहरु दुखी भएको आश्रमकी सचिव निर्मला मल्लले बताउनुभयो । मल्लले भन्नु्भयो, ‘सन्तान भएकाहरु घरबाट आमाको मुख हेर्न आउँछनकी भन्ने ठूलो आशामा रहेका हुन्छन् तर कोही नआएपछि उनीहरु निराश हुने गरेका छन् ।’ आश्रमकी सहसचिव सरु श्रेष्ठले आश्रित आमाहरुलाई न्यास्रोपन मेटाउनको लागि विहान आएर उहाँसँग बसेर मातातिर्थ औंशी मनाएको बताउनुभयो ।
चावपर्वको समयमा पहिला उहाँलाई समय छुट्टाएर पछि घर तथा परिवारलाई समय दिने गरेको उहाँले बताउनुभयो । बुधबार अधिकांश आमा गुमाउनेहरुले आएर मिठा खानेकुरा खुवाएर मातातिर्थ औंशी मनाएको आश्रमले जनाएको छ । आश्रमका अनुसार वि.सं.२०७० साल वैशाख १ गते देखि आश्रम सञ्चालन ल्याईएको हो । हालसम्म २० जनाले सेवा पाउनु भएको छ भने दश जनाको निधन भईसकेको छ । हाल चार जना आमाहरु आश्रित छन् । जन्मदिन, वैवाहिक वर्षगाँठ, पितृकार्य लगायतमा आश्रमलाई दाताहरुले सहयोग गर्दै आएका छन् ।
महिलाहरुले मिलेर आश्रम सञ्चालन गर्नु भएको हो । आश्रमका ३३५ जना महिलाहरु आबद्ध हुनुहुन्छ । ‘मन्त्र जप्ने ओठ भन्दा सेवा गर्ने हात पवित्र हुन्छ’ भन्ने नाराका साथ सूरुमा मुठीदानबाट महिलाहरु मिलेर आश्रम सञ्चालन गरिएको सचिव मल्लले जानकारी दिनुभयो । व्यास नगरपालिका–३ दमौली निवासी दीपक रानाले आमा निधन भएकोले आमाको न्यास्रो लागेर आश्रमका आमालाई फलफूल लिएर भेट्न आएको बताउनभयो ।
























