व्यासमा पुनः मतगणना गर्ने उच्च अदालतकाे आदेशले दमाैलीमा तरंग

व्यासमा पुनः मतगणना गर्ने उच्च अदालतकाे आदेशले दमाैलीमा तरंग

उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकाको पुन: मतगणना गर्न आदेश दिए पछि दमाैलीमा तरंग पैदा भएको छ । बुधबार बिहानैदेखि दमाैलीका चिया पसल र चाेकचाेकमा उच्च अदालतकाे आदेश बारेमा बहस भइरहेको छ । अब के हुन्छ , मतगणना कहाँ हुन्छ , न्यायालयले उच्च अदालतमै झिकाएर गणना गर्छकि , निर्वाचन आयाेगलाइ दिन्छकि या उम्मेदवार र तिनका एजेन्ड हरू नराखी मतगणना गर्छकि भन्ने सन्दर्भका बहसले सिङ्गो दमाैली बजार तातेकाे छ । पुनरावेदनको आदेशलाई लिएर सर्वोच्च जान मिल्ने नमिल्ने या पुनः मतगणना गर्दा नतिजा उल्टने नउल्टने यी र यस्तै बिषयले चर्चा पाइरहेको छ । तथापि यी चर्चा र बहसका बिच उच्च अदालत बाट आउने पुर्णपाठले यसको छिनोफानो गर्नेछ । उच्चकाे आदेशले स्वतन्त्र उम्मेदवार दिपक राज जाेशि पक्षलाई हाैस्याएकाे छ ।

०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुन: मतगणनाको माग गर्दै १२ जेठ ०७९ मा मतगणना कार्य बदर गरी दोहोर्‍याएर मतगणना गरी पाउँ भनी अदालतमा रिट दर्ता गरेका थिए ।

जेशीले रिट दायर गरेको २३ महिना २० दिनपछि अदालतले पुन: मतगणना गर्न आदेश दिएको हो । न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले जोशीको दाबी पुग्ने आदेश गरेसँगै पुन: मतगणना हुने भएको हो ।

अदालतको आदेशसँगै अब निर्वाचन आयोगले पुन: मतगणना गरेर अर्को नतिजा प्रकाशन गर्नुपर्ने भएको छ । आदेशसँगै यस अघिको नतिजा स्वत बदर समेत भएको छ ।

कांग्रेसका बैकुण्ठनाथ न्यौपानेसँग दुई सय ५२ मत अन्तरले पराजित भएका जोशीले निर्वाचन आयोग नेपाल, मुख्य निर्वाचन अधिकृत, मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँ, जिल्ला निर्वाचन कार्यालय तनहुँ र निर्वाचित बैकुण्ठनाथ न्यौपानेलाई प्रतिवादी बनाउँदै पुन: मतगणनाको माग गर्दै रिट निवेदन दिएका थिए।

अदालतमा दायर गरेको रिटमा जोशीले केही मतदान केन्द्रमा खसेको भन्दा बढी मत प्राप्त भएको, मत गणना गर्दा गडबडी, धाँदली गरेर  षड्यन्त्रपूर्वक हराइएको उल्लेख गरेका थिए ।

अदालत आउनु अघि जोशीले मतगाणनाको परिणाम सार्वजनिक भए लगत्तै पुन: मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँमा उजुरी दिएका थिए । आफनो उजुरीको सुनुवाई नभएको र आयोगबाट न्याय नपाएको भन्दै उनी अदालत पुगेका थिए ।

निर्वाचनपछि भएको मतगणनामा न्यौपानेले १२ हजार ७८ र पराजित जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए । मेयरमा विजयी न्यौपानेले आफ्नो पदभार ग्रहणसँगै विगत दुई वर्षदेखि कामसमेत गर्दै आएका छन् । जोशी पुर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन् निर्वाचनमा उनलाई नेकपा एमालेले समर्थन गरेको थियो ।

जोशीको निवेदनमाथि भएको सुनुवाइपछि अदालतले निवेदकको मागअनुसार आदेश किन जारी गर्न नपर्ने हो ? त्यसको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

त्यसपछि जोशीले पुन: मतगणनाको माग गर्दै दायर गरेको रिट ३१ औँ पटकको पेशीमा भएको सुनुवाईपछि मात्र अन्तिम फैसला आएको हो । दुई वर्षको अवधिमा रिट १४ पटकसम्म हेर्न नभ्याइने, निवेदक र विपक्षीका कानुनी व्यवसायीबाट ११ पटक स्थगित, प्रमाण बुझ्ने बहश नोट माग्ने लगायतका ६ पटक विभिन्न आदेशसँगै ३२ औँ पटकमा आएर अन्तिम फैसला सगै पुन: मतगणना गर्ने आदेश अदालतले गरेको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page