आदिकवि भानुभक्तको ससुराली गाउँ मानहुँ
देव वस्न्यात

नेपाली साहित्यका मूर्धन्य व्यक्ति भानुभक्त आचार्यको जन्म वि.सं. १८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुँदी रम्घामा भएको हो । उहाँको पिता धनञ्जय आचार्य र आमा धर्मावती हुन् । धनञ्जय आचार्यले दिव्य १२ वर्षसम्म सूर्यको व्रत बसेका थिए । दिव्य १२ वर्षको व्रतपश्चात जन्मिएका छोरा हुनाले पिताले उनको नाम भानुभक्त राखिदिएका हुन् । सानै उमेरदेखि भानुभक्तले आफ्ना हजुरबाबा श्रीकृष्ण आचर्यबाट शिक्षादिक्षा प्राप्त गरेका थिए ।


उनले आफ्ना जीवनकालमा वाल्मिकी रचित आध्यात्म रामायणको भावानुवाद गरेर भानुभक्त रामायण (१९१०) र रामगीता, प्रश्नोत्तर, भक्तमाला (९१०), वधुशिक्षा (१९१९) र अरु धेरै फुटकर कविता जस्ता कृतिहरु लेखेर हामी माझमा पस्केका छन् । वि.सं.१९४८ मा मोतिराम भट्टले आफ्नो कृति मार्फत भानुभक्त आचर्यले आदिकविको पगरी गुथाएकोमा श्री ३ जुद्धशमशेर जबराले हुन्छ भनेर हुकुम प्रमाङ्गी गरेका थिए । भानुभक्तिय साहित्य लेखनको जगमा नै नेपाली भाषाको जग बसेको हो । यही देनका कारण भानुभक्त नेपाल एवं भारतमा सुपरिचित साहित्यकार बन्न पुगेका हुन् ।

भानुभक्त १४ वर्षको उमेरमा काशीवास गएका थिए । भानुभक्तका ससुराली गाउँहरु मध्ये मानहुँ पनि एक थियो । १० वर्षकै उमेरमा भानुभक्तले तनहुँ जिल्लाकै राङरुङ निवासी परशुराम खनालकी छोरी चन्द्राकान्ता खनालका साथ विवाह गरेका थिए तर ११ वर्षकै उमेरमा उनको धर्मपत्नी चन्द्रकान्ताको देहान्त भएकाले तनहुँ जिल्ला मानहुँ निवासी विद्याधरखनालकी छोरी चन्द्रकला खनालसंँग दोश्रो विवाह गर्न पुगेका हुन् । भानुभक्त स्वयंको नामको भावार्थ सूर्य जनाउने भएका हुनाले उनले विवाह गरेका दुवै श्रीमतीहरुको नाम चन्द्रा राखेर सूर्यचन्द्र अङ्कित राष्ट्रियध्वज फराफराउन खोजेको आभाष मिल्दछ ।

विवाह पश्चात ससुरालीमा पुगेका भानुभक्त आचर्य मानहुँको भूपरिवेश देखेर ज्यादै मन्त्रमुग्ध भए । ससुराली गाउँका सालाजेठानहरुले भानुलाई श्लोक भन्न आग्रह गरी रहे । भानुभक्तले कसै गरी साला जेठानहरुको आग्रह टार्न सकेनन । अन्ततः बसाईको दृष्टिले राजाठाउँ मानिने मानहुँकोटका विषयमा कविवर भानुभक्तले मन्त्रमुग्धले खुलेर यसरी गुणगान गाएका थिए । तर यसै विषयमा डा. विद्युतकेशरी न्यौपानेले आफ्नो कृति आदिकवि भानुभक्त बहुमुखी क्याम्पस र तनहुँको सेरोफेरो पुस्तकमा भानुभक्त आचर्यका छोरा रामनाथ आचर्यले मानुङ सम्बन्धि कविता सुनाएका हुन भनी उल्लेख गर्नु भएको छ ।
मानुङको सरि गाउँ उत्तम ठूलो लागेन कहिं पनि ।
बस्नलाइ रमाइलो अति चिसो आउँछ हावा पनि ।।
घरमा नै बसी फेर हिमालयजिको वाराहिजीको पनि ।
श्ुक्ला दक्षिणतर्फ उत्तर दिशा माहेन्द्री दर्शन पनि ।।
घांँसीको प्रेरणा र चन्द्राकलाको उत्प्रेरणाले भानुभक्त आचर्यले रचना गरेका कैयन श्लोकहरु अपठित नेपालीहरुले बुझ्ने सरल र सरष भाषामा भावानुवाद तथा रचनाहरु रचना गरेका हुन् । उनले रचेका साहित्यहरु आज हरेक नेपालीका जनजिब्रोमा झुण्डिएका पाइन्छन् । सबैको प्रिय कविता बनाउनमा भानुभक्त आचर्य खप्पिस हुनुहुन्थ्यो । उहाँका कविताहरुमा नेपाली जनजीवनको लालित्यता, सरलता र विचारको मिठास पन पाइन्छ ।

वाल्मिकी आध्यात्म रामायणको नेपालीमा गरेका हुनाले उहाँलाइ नेपाली वाल्मिकी पनि भन्ने गरिन्छ । जसरी पृथ्वीनारायण शाहले नेपालका बाइसे तथा चौबिसे राज्यहरुलाई एकीकरण गरे त्यसरी नै नेपालमा छरिएर रहेका १२६ भन्दा बढी नेपाली मातृभाषाहरुका सम्पर्क भाषाको रुपमा एकता गर्न मद्धत पु¥याएका थिए । उनको यो अतुलनीय योगदानले नेपाली पहिचान दिलाउन मद्धत पुगेको मान्ने गरेका छौं । वास्तवमा भानुभक्त आचर्यले आम नेपालीले बुझ्ने भाषामा रामायण लगायतका अन्य अनुवादित कृति र अन्य मौैिलक खण्डकाव्य तथा फुटकर कवितहरु रचना गरेर नेपाली भाषामा अतुलनीय योगदान पु¥याएको महसुस गरेका छौं । वि.सं.१९२५असोज ६ गतेका दिन मस्र्याङदी नदीको सतीघाटमा जलाशर लगिएका आचर्यले सोही स्थानमा यस धरतीबाट बिदा लिएका थिए ।

























