बजारमा सिसि क्यामरा जडान गर्दै दमाैली बजार इकाई
तनहुँ उद्योग बाणिज्य संघ दमाैली बजार इकाईकाे सक्रियतामा दमाैली बजारमा सिसि क्यामरा जडान गरिने भएको छ । विभिन्न अपराधिक गतिविधि राेक्न , बजारलाई सुरक्षित राख्न, व्यापारी लगायत स्थानीयलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले सिसि क्यामरा पुनरमर्मत गरेर जडान गर्न लागिएको तनहुँ उद्योग बाणिज्य संघ दमाैली बजार इकाईका सभापति सुकनारायण मल्लले बताए ।


मल्लका अनुसार बजारमा जडान गरिएका २८ वटा पुरानो सिसि क्यामरा सरसफाइ , मर्मत तथा अन्य केही थप गरि ,३५/४० वटा जडान गर्ने गरि काम अगाडि बढाइएको छ । यस्तै पृथ्वीराजमार्ग सुधार पश्चात् दुर्गा मन्दिर देखि बुल्दि खाेला पुल सम्मको भागलाई समेट्ने गरि सिसि क्यामरा जडान गरिनेछ ।सिसि क्यामरा जडान पश्चात् मादकपदार्थ सेवन गरि झै–झगडा गर्ने , होहल्ला गर्ने ,चोरी तस्करी गर्ने कार्यमा न्युनिकरण हुँदै जाने इकाईले विश्वास लिएको छ ।





























