म्याग्दे ४ मा ४ दिने नेतृत्व विकास तालिम सम्पन्न

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ४ मा ४ दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । वडाको चालु आ.व. को वार्षिक स्वीकृत कार्यक्रम अर्न्तगत संचालित तालिममा ३४ जना सहभागी भएकाे वडा अध्यक्ष दिपक कुमार श्रेष्ठले बताए । सहभागी हरू लाई प्रशिक्षक रामभक्त घिमिरे तथा अन्जना तिमिल्सिनाले प्रशिक्षण दिएका थिए । तालिम समापन एवं प्रमाणपत्र वितरणका अवसरमा बाेल्दै म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठले वडाका सबै नागरिकलाई सक्षम र क्षमता बृद्धि गराउने वडाको उद्धेश्य रहेको बताए । तालिम पश्चात् सहभागीहरूले अगाडि उभिएर ढुक्कसँग बाेल्न सक्ने बनेको भन्दै श्रेष्ठले व्यक्तित्व विकासले मानिसलाई सामाजिक क्षेत्रमा लाग्न , नेतृत्व लिन प्रेरणा मिलेको बताए । तालिममा सहभागी कविता क्षेत्रीले माइक समातेर अगाडि उभिएर बाेल्न सक्ने बन्न पाएकाेमा खुसी व्यक्त गरिन् । पहिला समुहको अगाडि उभिएर बाेल्न डर , लाज लाग्ने हुन्थ्यो तर अहिले ढुक्कसँग बाेल्न सक्ने भएका छाैं , क्षेत्रीले भनिन् । कविताको जस्तै अनुभव अन्य सबै सहभागीहरूकाे रहेको छ । तालिमले व्यक्तित्व विकासमा दरिलो बनाएको भन्दै सहभागीहरूले यस अवसरका लागि वडा कार्यालय लाई धन्यवाद दिएका छन् । समापन कार्यक्रममा निवर्तमान वडा अध्यक्ष प्रेमबहादुर थापा , कार्यपालिका सदस्य बद्रीका भट्टराई लगायतले बाेलेका थिए ।

























