घरेलु तथा साना उद्योग महासंघकाे ३५ औं स्थापना दिवस सम्पन्न

घरेलु तथा साना उद्योग महासंघकाे ३५ औं स्थापना दिवस सम्पन्न

महिला उद्यमी समिति तनहुँले बिहिबार दमाैलीमा नेपाल घरेलु तथा साना उद्योग महासंघकाे ३५ औं स्थापना दिवस मनाएकाे छ । 

स्थापना दिवस कार्यक्रमलाई सम्बाेधन गर्दै कार्यक्रम का प्रमुख अतिथि व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले सीपमूलक तालिमहरू लिएका महिलाहरूलाई उद्यमशीलतामा लाग्न आग्रह गरिन् । स्थानीय स्तरमा उत्पादित सामाग्रीहरूकाे व्यापारीकरणका लागि महिला उद्यमी समिति तनहुँले दमाैलीमा सञ्चालन गरेकाे काेसेली घरकाे प्रवर्द्धनमा नगरपालिकाले सहयाेग पुर्‍याउने दरैले बताइन्  । 

कार्यक्रममा व्यास नगरपालिका वडा नं. ३ का अध्यक्ष अनुप रानाले महिलाहरूका लागि स्वराेजगार सिर्जना गर्ने कार्यक्रममा प्राथमिकता दिइने बताए । घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी समिति तनहुँका संस्थापक अध्यक्ष मछिन्द्रा श्रेष्ठले सीपकाे सदुपयाेग गरि आफ्नै खुट्टामा उभिएका महिला समाजमा सशक्त हुने विचार राखिन् । 


महिला उद्यमी समिति तनहुँ अध्यक्ष कल्पना गाैलीकाे अध्यक्षतामा भएको कार्यक्रममा मिलीजुली कृषि सहकारीका अध्यक्ष ईश्वर गाैली , घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य ताराराम श्रेष्ठ , सचिव सिर्जना काेइराला लगायतले बाेलेका थिए ।

महिला उद्यमी समिति तनहुँले पर्यटन तथा उद्योग कार्यालय तनहुँकाे प्राङ्गणमा सञ्चालन गरेकाे काेसेली घरमा मह, चुकअमिलाे, अचार, मस्याैरा, मकै, मास, सिस्नाे लगायतका स्थानीय खाद्य सामाग्री, थाकलका झाेला, बासका सामाग्री, कारागारका कैदिबन्दीले तयार पारेका हस्तकला लगायतका दैनिक उपभाेग्य वस्तुहरू विक्रीका लागि राखिएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page