माछामासु पसलमा सरसफाइमा ध्यान दिन अनुगमन टाेलिकाे निर्देशन

तनहुँको दमौली स्थित माछा मासु पसलमा अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय तनहुँको आयोजनामा सुक्रवार भएको अनुगमनका क्रममा व्यास नगरपालिका वडा नं ३ मा रहेका १६ वटा माछा मासु पसलमा अनुगमन गरिएको थियो । बिहीबार गणेशमानचाेक वरिपरिका झण्डै ३६ वटा पसलमा भएको अनुगमनकाे निरन्तरता दिँदै सुक्रवार थप अनुगमन गरिएको हाे ।

त्यसक्रममा माछामासु बजारमा रहेको भिरकाेट शान्तीराम फ्रेस हाउसमा सरसफाइमा लापरबाही भएको भन्दै तत्कालै सचेत गराइएको र फेरि यस्तो भेटिएमा पसल सिल गर्ने चेतावनी दिएको छ ।



यस्तै अनुगमन टोलीले बधशालामा सरसफाइ नभएको , त्यहाँबाट दुर्गन्ध फैलिएको भन्दै सरसफाइमा ध्यान दिन र मानव जीवन सँग प्रत्यक्ष सराेकार राख्ने बिषयमा खेलवाड नगर्न सचेत गराएको छ । यस्तै केही पसल दर्ता नगरी सञ्चालन गरेकोमा दर्ता गर्न भनिएको , केहीकाे नवीकरण नभएकोले नवीकरण गर्न भनिएको , मुल्य सुची अनिवार्य देखिने ठाउँमा राख्न निर्देशन दिइएको पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख दुर्गाराम सुवेदीले बताए ।
उपभोक्ताहरू नठगिउन भनेर अनुगमन लाई निरन्तरता दिइएको प्रमुख सुवेदीले बताए । अत्याधिक गर्मी बढिरहेको बेला गुणस्तरहिन सामान हरू बिक्री गर्दा मानिसहरू झनै बिरामी हुन सक्ने भएकोले पनि बजार अनुगमन गरेका हौँ उनले भने ।


मानव स्वास्थ्यमा असर पुग्ने खालको अखाद्य बस्तु नबेच्न र अखाद्य बस्तुको अलावा वास्तविक मूल्य भन्दा बढी मूल्य राखेर कालोवजारी नगर्न अनुगमन टोलिले निर्देशन दिएको छ ।
पर्यटन तथा उद्योग कार्यलय तनहुँको आयोजनामा भएको अनुगमनमा व्यास नगरपालिका ,
जिल्ला प्रशासन कार्यालय , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय , भेटनरि अस्पताल तथा पशु सेवा कार्यालय , तनहुँ उद्योग बाणिज्य संघ , जिल्ला प्रहरी कार्यालय , पत्रकार महासंघ लगायतको टाेलिले संयुक्त रूपमा बजारमा अनुगमन गरेको हाे ।


























