४ जिपिए ल्याउने तनहुँकै एकमात्र रन्जिलाकाे डाक्टर बन्ने चाहना
बिहिबार सार्वजनिक भएको इसईई नतिजामा हाेरालाे माविकी रन्जिला क्षेत्री चार जिपिए ल्याउन सफल भइन् । भानु नगरपालिका स्थित हाेरालाेमा पढ्ने क्षेत्री चार जिपिए ल्याउने तनहुँकै एकमात्र विद्यार्थी हुन् ।

चार जिपिए ल्याउन सफल रन्जिला सँग तनहुँ प्रेस डटकम ले सम्पर्क गर्दा आफु भविस्यमा डाक्टर पढ्ने बताइन् । मलाई स्वास्थ्य क्षेत्रमा सेवा गर्ने इच्छा भएकोले डाक्टर बन्ने लक्ष्य राखेको छु उनलेे सुनाइन् । अब काठमाडौं गएर प्लस टु मा साइन्स पढ्ने याेजना बनाएको छु उनलेे भनिन् । चार जिपिए आउनुमा आफ्नाे मेहेनत , बिद्यालय , परिवार सबैकाे सपाेर्टले सम्भव भएको उनलेे बताइन् । ‘उत्कृष्ट नतिजा आउनुमा मेरो परिवार, शिक्षकहरु र साथीहरुको ठूलो हात छ’, उनले भनिन् ।

चार जिपिए ल्याउन आफूले अतिरिक्त तागत प्रयोग नगरेको उनी बताउँछिन् । ‘मैले त चार जिपिए ल्याउने लक्ष्य राखेर परीक्षाको नजिक घुँडा धसेर पढेको पनि थिइन । सामान्य रुपमा अरु साथीहरुले जस्तै गरी पढेको थिएँ, चार जिपिए आएछ’, उनी भन्छिन्, ‘सुरुदेखि नै मन ध्यान लगाएर पढेको भएर परीक्षा राम्रो भएको थियो । चार जिपिए आएछ, खुशी लाग्यो ।’
उनी कक्षा १० को पढाइ भएको सुरुको दिन देखि नै सबै विषयहरु गहन रुपमा पढ्दै गएको बताउँछिन् । ‘मैले त कक्षा १० को पहिलो दिनदेखि नै सबै विषयवस्तुहरु पढ्दै गएकी थिएँ । त्यही भएर होला, परीक्षा पनि निकै सजिलो भयो । तर ४ जिपिए नै आउँछ भनेरचाहिँ सोचेकी थिइनँ’, उनले भनिन्, ‘म पनि अरु जस्तै साधारण विद्यार्थी नै हो ।सुरुदेखि नै राम्ररी पढ्यो भने राम्रो नतिजा ल्याउन गाह्रो नहुने रहेछ भनेर थाहा भयो ।






























