मुग्लिन – नारायणगढ सडक खण्डमा ५० भन्दा बढी यात्रु बाेकेकाे दुईवटा बस पहिरोले बगायाे
नारायणगढ- मुग्लिन सडक खण्डअन्तर्गत चितवनको सिमलतालमा शुक्रबार बिहान पहिरोमा परेर दुईवटा यात्रु बस बगेका छन् । बिहान साढे तीन बजेतिर पहिरोले बस बगाएको चितवन प्रहरीले जनाएको छ । सोही सडक खण्डको १७ किलोमा अर्को एउटा गुडिरहेको बसमा पहिरोसंगै झरेको ढुंगा लागेर चालकको ज्यान गएको छ । सिमलतालमा पुरिएका बसमध्ये एउटाको पछाडिको केही भाग मात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए । उक्त बस काठमाण्डुबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बसबाट हाम फालेका ज्यान बचाएका यात्रुले त्यसबारे जानकारी गराएका थिए ।



चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ज्यान बचाएका तीन यात्रु सम्पर्कमा आएको बताए । वीरगन्जबाट काठमाण्डू गइरहेको एन्जल यातायात र काठमाण्डूबाट गौरका लागि छुटेको गणपति डिलक्सको बस रहेको छ । एन्जलमा २४ जना र गणपति डिलक्समा ४१ यात्रु सवार थिए ।

पहिरोले १७ किलोमा पहिरोबाट खसेको ढुंगाले लागेर बुटवलबाट काठमाण्डु जाँदै गरेको लु२ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजलशिक्षण अस्पतालमा ज्यान गएको थियो ।
उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसहित प्रजिअ यादव घटनास्थलतर्फ गएका छन् ।




























