यस्तो भएमा पुर्व मन्त्री जाेशीकाे फैसला आज नहुन सक्छ !
अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा फैसला सुनाउने मिति आजलाइ ताेकेकाे छ । यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले गत हप्ता दुवै पक्षको सुनुवाइ सकेर १३ साउनमा फैसला सुनाउने मिति तय गरेका थिए। त्यसअघि २१ असारसम्म बहसनोट पेश गर्न सर्वोच्चले आदेश दिएको थियो ।
जाेशीकाे अन्तिम फैसला सम्भवत आज हुने धेरै सम्भावना रहेको जानकारहरू बताउँछन् । यदि एकजना न्यायाधीश बिदामा बसेकाे खण्डमा या दुई न्यायाधीश बिच राय बाझिएको खण्डमा मुद्दा पुर्ण इजलासमा जान सक्ने सम्भावना पनि रहेकोले आज नटुङ्गिन पनि सक्ने एक कानुन व्यवसायीले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।

विशेषको फैसला विरुद्ध जोशीले फागुन, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए । विशेषले उनलाई भ्रष्टाचारी नै ठहर गरेपछि उनी सर्वोच्च गएका हुन् ।
विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले १० साउन, २०६९ मा जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको थियो । जोशीले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत र त्यति नै रकम जरिवाना हुने फैसला भएको थियो । जाेशीकाे मुद्दा आज किनारा लाग्ने र सफाइ पाउने भन्दै उनी पक्षीय नेता कार्यकर्ताहरू तनहुँमा मुद्दाको फैसला कुरिरहेका छन् ।
जाेशीले सफाइ पाएभने राजनीतिमा फर्कन सक्ने प्रवल सम्भावना छ ।
























