व्यासकाे सार्वजनिक सुनुवाइ – त्रिपाल टाँगेर उद्घाटन गरिएको हाट बजार खै ?

व्यासकाे सार्वजनिक सुनुवाइ – त्रिपाल टाँगेर उद्घाटन गरिएको हाट बजार खै ?

व्यास नगरपालिका कार्यालयको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । सार्वजनिक सुनुवाइमा सहभागी अधिकांशले नगरपालिकाकाे काम प्रति गुनासो सँगै आक्राेश पाेखेका छन् । सहभागीहरूकाे आक्राेशकाे सामना गर्न व्यास नगरपालिकाका प्रमुख , उपप्रमुख , प्रमुख प्रशासकिय अधिकृत लगायतका जनप्रतिनिधि र सराेकारवालाहरूलाइ हम्मेहम्मे परेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा व्यास–३ पुल्चोक निवासी हरिमाया बिकले नगरपालिकाले फुटपाथ व्यवसायीलाई व्यवस्थित गर्न अनसन चौतारी नजिक त्रिपाल टाँगेर हाटबजारको उद्घाटन गरेपनि टिकाउन नसकेको भन्दै त्यो हाटबजार कहाँ पुग्यो भनी प्रश्न गरेकी थिइन् । कार्यक्रममा सेवाग्राहीकाे संख्या धेरै हुनुपर्नेमा व्यासका जनप्रतिनिधी र कर्मचारीले मात्रै हल भरिएको भन्दै सहभागीहरूले व्यङ्ग्य गरेका थिए । यस्तै रास्वपा तनहुँका संयोजक बिश्व बास्तोलाले बन्द कोठा भित्र सार्वजनिक सुनुवाइ कार्यक्रम गरिनुको औचित्य नहुने भएकाले आउँदा दिनमा खुल्ला स्थानमा गरिनुपर्ने बताए । सार्वजनिक सुनुवाई कार्यक्रममा छानी छानी आफ्नाे मान्छे बोलाइएकाे र सबैले राम्रो भन्दियाेस् भन्ने आयाेजककाे चाहना रहेको सहभागीहरूले बताएका थिए ।
गण्डकी प्रदेशका साँसद अशोककुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ,नेकपा माओवादी नेता आरसी सापकोटा,नेकपा एस तनहुँका नेता मंगलप्रसाद श्रेष्ठ लगायतका वक्ताहरुले बाेलेका थिए । व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page