झुलबहादुर आले स्मृति प्रतिष्ठान द्वारा विपन्न परिवारलाई कम्बल वितरण
संविधानसभा सदस्य झुलबहादुर आले स्मृति प्रतिष्ठानले ऋषिङ गाउँपालिका- ७ का चार दुखी असहाय तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । आर्थिक रुपमा विपन्न यहाँका चार परिवारलाई प्रतिष्ठानले चिसोबाट बच्न कम्बल वितरण गरेको प्रतिष्ठानका अध्यक्ष कमलबहादुर आलेले बताए ।
सामाजिक काम गर्ने उद्धेश्य सहित स्थापित प्रतिष्ठानले चिसो मौसममा कसैलाई पनि अप्ठ्यारो नहोस् भनेर कम्बल सहयोग गरिएको आलेले जानकारी दिए ।

यस अगाडि पनि पटकपटक विभिन्न किसिमका सहयोग गर्दै आएकाे प्रतिष्ठानले वडा भित्रका विपन्न परिवार छनोट गरी सहयोग गरिएको उनको भनाइ छ । आलेका अनुसार श्यामलाल श्रेष्ठ, चित्रबहादुर थापा, केदार क्षेत्री र श्याम विकलाई सहयोग गरिएको हो ।प्रतिष्ठानले केही समय अगाडीमात्रै यहाँका दुई परिवारलाई विद्युतीय चुलो समेत हस्तान्तरण गरेको थियो । प्रतिष्ठानले दुवै परिवारको एक वर्षसम्मको विद्युत र खानेपानीको महशुल समेत तिरिदिने बताएको छ ।

नेपाली काङ्ग्रेसका नेता स्वर्गीय आलेको योगदानलाई चीरस्थायी बनाउन छाेरा कमलबहादुर आलेको अध्यक्षतामा झुलबहादुर आले स्मृति प्रतिष्ठान गठन गरिए पछि प्रतिष्ठानले सो वडाका वृद्धवृद्धालाई सहयोग गर्नका लागि रु दश लाखको अक्षयकोष स्थापना गरेको थियो । अक्षयकोषबाट प्राप्त हुने व्याजबाट वार्षिक रुपमा असहाय, विपन्न वृद्धवृद्धालाई सहयोग गरिने प्रतिष्ठानले जनाएको छ ।
विक्रम संवत २००७ साल माघ १२ गते ऋषिङ- ७ घिरिङ थोकमा जन्मेका झुल बहादुर आले नेपाली कांग्रेसको तर्कबाट संविधान सभा सदस्य थिए । नेका महासमिति सदस्य समेत रहेका आले इमान्दार , पार्टी प्रति वफादार नेपाली कांग्रेसका सच्चा सिपाही थिए । आलेको २०७९ मंसिर ९ गते ७२ वर्षको उमेरमा निधन भएको थियो ।
























