सनिवार देखि दुलेगौंडाको हेल्थपोष्टचोक– पुल्चोक खण्ड बन्द हुने
तनहुँको शुक्लागण्डकी–४ दुलेगौंडा हेल्थपोष्टचोकदेखि पुल्चोक सम्म पुष ६ गते सनिवार देखि अर्को सुचना जारी नभएसम्मकालागि बन्द हुने भएको छ । दुलेगौंडा लिलाचोक खण्डको स्तरोन्नतीको क्रममा सवारी साधन आवतजावत गर्नकोलागि असुरक्षित देखिनुका साथै निर्माण कार्यलाई तिव्रता दिन सो खण्ड बन्द गर्न लागिएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेद्धारा शुक्रवार जारी सुचनामा जनाइएको छ ।

उक्त मार्ग भएर हिँड्ने मानिसहरू लाई वैकल्पिक ढोरबाराही मोटरमार्गको गाछेपानी पुरानो पुल हुदै तिब्बतीयन क्याम्पको सडक प्रयोग गर्न नगरपालिकाले अपिल गरेको छ ।
दुलेगौंडादेखि लिलाचोक सम्मको सडक खण्डको स्तरोन्नतीको लागि गएको बैशाखको दोस्रो साता शिलान्यास गरिएको थियो । शिलान्यास भएको करिव ५ महिनापछि मात्र काम शुरु भएको थियो । वडा नंं ४ दुलेगौंडास्थित विपीचोकबाट शुरु भई वडा नं. १२ को लिलाचोकसम्म पुग्ने सडक सो सडक विश्व बैंकको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजीआईपी) अन्तर्गत नगरपालिकाको हालसम्मकै ठुलो योजना हो । सो सडक दुलेगौंडा लामागाउँ मोटर मार्ग अन्तर्गत पर्दछ । स्याङ्जाको पुतलीबजार जोड्ने सडकको हाल लिलाचोकसम्म ७.२ किलोमिटर सडक कालोपत्र हुने छ । बानियाँ निर्माण सेवा, हेटौंडाले १५ महिनामा सडक निर्माण सम्पन्न गर्न २७ करोड ३४ लाख ७९ हजार ८ सय ३४ रुपैयाँमा सम्झौता गरेको छ । दुलेगौँडास्थित बिपीचोक, हेल्थपोष्ट चोक, पुल्चोक, घारी, तालवेशी, मालेबगर हुँदै लिलाचोकसम्म कालोपत्र हुने नगरपालिकाले जनाएको छ ।

























