विद्यार्थीको नजिता सुधार्न शुक्लागण्डकीमा निशुल्क अतिरिक्त कक्षा
चालु आर्थिक बर्षलाई शैक्षिक बर्षको रुपमा मनाउने घोषणा गरेको तनहुँको शुक्लागण्डकी नगरपालिकाले यस बर्ष कक्षा ८ र १० का विद्यार्थीलाई लक्षित गरेर निशुल्क अतिरिक्त कक्षा सञ्चालन गर्ने भएको छ । कक्षा ८ र कक्षा १० का विद्यार्थीहरुको नजिता सुधार गरेर शैक्षिक उपलब्धी हासिल गर्ने उदेश्यले नगरपालिकाले नै अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको शिक्षा शाखा प्रमुख नवराज चापागाईले नगर क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ८ मा गणित र कक्षा १० मा विज्ञान र गणित विषयको अतिरक्त कक्षा सञ्चालन गरिने बताए । उनलेे सम्वन्धित विद्यालयका विषयगत शिक्षकलाई अतिरिक्त कक्षा लिएवापतको पारिश्रमिक नगरपालिकाले उपलब्ध गराउने भएकाले विद्यार्थीलाई कुनै आर्थिक भार नपर्ने जानकारी दिए ।
शाखाका अधिकृत शुशिल नरालका अनुसार विहिबार नगरपालिकामा रहेको सामुदायिक विद्यालयका ५५ जना प्रधानाध्यापकसंग अतिरिक्त कक्षा सञ्चालनका लागि सम्झौता भएको छ ।
नगरपालिकामा आयोजना गरिएको सिकाई आपुरण तथा द्रुत सिकाई योजना कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कृष्णराज पण्डितले नगरपालिकाले आधारभूत तहसम्म निशुल्क र अनिवार्य अध्ययनको निती लिएकाले सवैलाई विद्यालयको पहुँचमा पु¥याउन अभियान सञ्चालन गरिएको बताए । उनले नगरपालिकाको आन्तरिक स्रोतबाट दरवन्दी कम भएका विद्यालयमा शिक्षकका ब्यवस्था गरिएको, नगरपालिकामा रहेको विभिन्न सहायकता कोषबाट सहयोगका कार्यक्रम सञ्चालन भईरहेकाले आर्थिक विपन्नताको नाममा विद्यालयको पहुँचबाट कोही कसैलाई बाहिर नराख्न आग्रह गरेका छन् ।
यस्तै उपमेयर खुबहादुर विक राजु, कार्यपालिका सदस्य रिता नेपाली लगायतले विद्यालयमा प्रधानाध्यापकको असल नेतृत्वले विद्यालयको शैक्षिक विकासले गति लिन सक्ने भएको हुदाँ गम्भिर भएर क्रियाशिल बन्न सुझाव दिएका थिए ।

























