लायन्स गजल साँझमा प्रदिप , राज र नवराजकाे प्रस्तुति

तनहुँकाे दमाैलीमा पहिलो पटक चर्चित गजलकारहरूबाट गजलहरु गुञ्जिएका छन् ।

लायन्स क्लव अफ तनहुँ भानुभक्तले शुक्रबार साँझ दमौलीमा आयोजना गरेको लायन्स गजल साँझमा बरिस्ठ चर्चित आधुनिक गजलकार एवम् गायक राज सिग्देल , प्रसिद्ध गजलकार प्रदिप राेदन र गायक नवराज थापाले आफ्ना प्रस्तुती दिएका थिए । दमौली सभाहलमा आयोजित कार्यक्रममा प्रदिपले एक दर्जन भन्दा बढी गजलहरु प्रस्तुत गरेका थिए ।

त्यसक्रममा उनले ‘बचाएको जस्तो गरेर सिध्याइदिने खेल रहेछ, उसले पानी भनेर छ्यापेको मट्टिटेल रहेछ’, ‘बा हेर्नुस् त खाना पाइन्छ लेखिएको छ त्यहाँ, थाहा छ बाबु सित्तैमा पाइन्छ लेखिएको छैन’कहिले नआउने मान्छे आज धाप मार्न आएको छ’ जस्ता चर्चित गजल सुनाए । उनको गजलमा श्राेताहरूले भरपुर आनन्द लिने मात्रै हाेइन , हुटिङ गरेर हाैसला समेत प्रदान गरेका थिए ।
त्यसक्रममा अर्का आधुनिक गजल गायक राज सिग्देलकाे प्रस्तुतिमा श्राेताहरू निकै उत्साहित भएका थिए । यस्तै अर्का स्थानीय गायक नवराज थापाले पनि उक्त अवसरमा आफ्ना प्रस्तुती दिएका थिए ।
लायन्स क्लव अफ तनहुँ भानुभक्तका अध्यक्ष हर्षमान श्रेष्ठकाे अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लगायतले सामाजिक कार्यमा लायन्स क्लवले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गरे ।
पिछडिएको सिमान्तकृतवर्ग र प्राकृतिक तथा दैविप्रकोपवाट प्रताडित समुदायलाई विभिन्न माध्यमवाट सहयोग गर्दे आएको लायन्स क्लव अफ तनहुँ भानुभक्तले कोष निर्माण गर्ने अभिप्रायले गजल साँझ गरेकाे हाे ।
समुदायमा रहेका विपन्न वालवालिकाहरुको सहज पठनपाठनमा सहयोग गर्ने, वालवालिकाको पोषण अभिवृद्धि गर्ने तथा लायन्स क्लव अफ तनहुँ भानुभक्तको नाउमा अक्षय कोष खडा गर्ने उद्येश्यका साथ गजल साँझ गरिएको क्लवका पुर्वअध्यक्ष एवं एक्जुकेटिभिज चिफ लायन्स सुरेन्द्र पौडेलले वताए ।
























