तनहुँका महिला शिक्षकहरूकाे वनभाेज कार्यक्रम हुने
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि तनहुँका महिला शिक्षकहरू भेला हुने भएका छन्। वनभोज कार्यक्रमको आयोजना गर्दै उनीहरू भेला हुन लागेका हुन्।

हरेक वर्ष तनहुँका कुनै एक विद्यालयका महिला शिक्षकहरूको अगुवाइमा वनभोज कार्यक्रम आयोजना गरिँदै आएको छ। यस वर्ष व्यास १० स्थित भानु माध्यमिक विद्यालयका महिला शिक्षकहरूको अगुवाइमा फागुन ३ गते शनिबारका दिन वनभोज कार्यक्रम हुन लागेको हो। वनभोज कार्यक्रमका लागि पूर्व तयारी बैठक शुक्रबार सम्पन्न गरिएको आयोजक विद्यालयकी शिक्षक शिलावती गुरुङले बताएकी छन्।

उक्त तयारी बैठकमा सत्यवती माध्यमिक विद्यालय, शिवपाञ्चन माध्यमिक विद्यालय, चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालय, जनसेवा आधारभूत विद्यालय, पराशर माध्यमिक विद्यालय, वेदव्यास प्राथमिक विद्यालय लगायतका विद्यालयका महिला शिक्षकहरूको उपस्थिति रहेको बताइएको छ। बैठकमा उपस्थित सम्पूर्ण विद्यालयका महिला शिक्षकहरूले वनभोज कार्यक्रम महिला शिक्षकहरूको परिचयात्मक कार्यक्रम बन्ने गरेको बताएका थिए।
वनभोज कार्यक्रम मार्फत गरिएको भेलाले महिला शिक्षकहरूबीच हार्दिकता, आत्मीयतामा बढोत्तरी हुनुका साथै शिक्षण सिकाई क्रियाकलापका अनुभवहरू समेत आदानप्रदानमा सघाउ पुग्ने गरेको महिला शिक्षकहरूले बताएका थिए।
महिला शिक्षकहरू भेला हुनका लागि वनभोज कार्यक्रमको आयोजना गरिए तापनि वनभोज कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य भनेको महिला शिक्षकहरू बीचको परिचय आदानप्रदान गर्नु रहेको आयोजक विद्यालयकी शिक्षक गुरुङले बताएकी छन्।
हरेक वर्ष फरक फरक विद्यालयका महिला शिक्षकहरूले आयोजना गर्दै आएको वनभोज कार्यक्रम महिला शिक्षकहरू भेला भएर आफ्ना अनुभवहरू आदानप्रदान गर्नका लागि वनभोज कार्यक्रम एउटा माध्यम बन्ने गरेको आयोजक विद्यालयकी अर्की शिक्षक शिक्षक सुनीमाया गिरीले बताएकी छन् ।
























